• २०८३ कार्तिक २२, शनिबार

पेसल लुइँटेलको ‘वेटिङ फर अ वाटरफल’ लोकार्पण

काठमाडौँ ।

नेपाली लेखक पेसलकुमार लुइँटेलद्वारा लिखित पर्यावरणसम्बन्धी निबन्धसङ्ग्रह ‘वेटिङ फर अ वाटरफल’ १६ कार्तिकका दिन भारतको असमस्थित गुवाहाटीमा आयोजित ’वातावरणीय साहित्यः वर्तमान र भविष्यका सरोकार’ शीर्षकको अन्तर्राष्ट्रिय साहित्यिक गोष्ठीको उद्घाटन सत्रमा लोकार्पण गरिएको छ ।

कार्यक्रमका सभाध्यक्ष लक्ष्मी सुवेदी, प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई तथा विशिष्ट अतिथिहरू प्रा. दिलीप बोहरा र प्रा. डा. हरिप्रसाद शर्माले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो । गुवाहाटी विश्वविद्यालय, असम, भारतस्थित नयाँ शैक्षिक भवनको सभाकक्षमा आयोजित उक्त कार्यक्रम नेपाली भाषा संस्कृति मञ्च, असम, र गुवाहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै गुवाहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागका डा. धुर्जट्टी शर्माले लुइटेलका निबन्धमा विज्ञान, काव्यिक कल्पना र पर्यावरणीय सरोकारको सुन्दर समन्वय रहेको बताउनुभयो । उहाँले भन्नुभयोस् “लुइँटेल प्रकृतिप्रति, विशेषतः पहाड, हिमाल, हिमनदी, नदी, वन, आगो र ढुङ्गाप्रति गहिरो अनुराग राख्छन्। यी प्राकृतिक तत्त्वहरू केवल भौतिक परिदृश्यका अवयव मात्र होइनन्स यिनले सौन्दर्यबोध, दार्शनिक जिज्ञासा र मानवीय अवस्थाको प्रतिबिम्बनका स्रोतका रूपमा समेत काम गर्छन्। एक अर्थमा, यस सङ्ग्रहले प्रकृतिका पाँच आधारभूत तत्त्व—हावा, पानी, आकाश, आगो र भूमि—लाई जीवनको अस्तित्वका केन्द्रीय आधारका रूपमा प्रस्तुत गर्दै तिनको सूक्ष्म विवेचना गरेको छ। उनका निबन्धले पाठकहरूलाई प्राकृतिक संसारको अन्तर्निहित सौन्दर्य पहिचान गर्न र यसको मौलिक स्वरूप संरक्षण गर्नुको महत्त्वबारे विचार गर्न प्रेरित गर्छन् ।”

प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै साहित्यिक समालोचक तथा पर्यावरणवादी प्रा. डा. गोविन्दराज भट्टराईले लुइटेलको कृतिलाई नेपाली लेखकद्वारा अंग्रेजी भाषामा लेखिएको पर्यावरणसम्बन्धी निबन्धहरूको पहिलो सङ्ग्रहका रूपमा उल्लेख गर्नुभयो । पर्यावरणीय चिन्ता समकालीन युगको एक प्रमुख सरोकार बनिरहेको वर्तमान समयमा लेखकले युगचेतनालाई समात्न सकेकोमा उहाँले प्रशंसा गर्नुभयो । उहाँले विशेषतः लुइटेलको भाषिक परिष्कार, वैज्ञानिक ज्ञान र पर्यावरणीय समालोचनात्मक चेतनाको सराहना गर्नुभयो ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा मानवशास्त्रीय ज्ञानलाई समेत आत्मसात् गरेका लुइँटेलका निबन्धले प्रकृतिसँगको मानवीय सम्बन्धका विविध आयामको अन्वेषण गर्छन् । यी विभिन्न दृष्टिकोणमार्फत उनले मानवीय अनुभवको महत्त्व र मानिसले प्रकृतिसँगको आफ्नो सम्बन्धलाई बुझ्ने विविध तरिकाको विश्लेषण गरेका छन् । उनका लेखनले प्राकृतिक संसारलाई वैज्ञानिक व्याख्याका आधारमा मात्र पर्याप्त रूपमा बुझ्न नसकिने र त्यसका लागि सांस्कृतिक व्याख्या, कल्पनात्मक संलग्नता तथा दार्शनिक चिन्तन पनि आवश्यक पर्ने सङ्केत गर्छन् ।