मुक्तक
दिनभरि फुर्सद उमालेर
चियाको घुट्कोसँग
चोकमा आफैँलाई पिउँछ ।
अरूले क्यारमबोर्ड खेलेको
मज्जा लिन
छेउमा उभिएर
गोटी हान्न निर्देशन गर्छ ।
घण्टौँ फेसबुक र टिकटकमा
आफूलाई मज्जाले घोट्छ ।
खुइय सुस्केरा छाड्दै
देशमा केही हुन नसकेकोमा
सर्वत्र गुनासो पोख्छ ।
आफूलाई सुनिदिने पात्र भेटे
विश्व राजनीतिको विश्लेषण गर्छ ।
आफ्नो देशको दुर्गतिमा
धारे हात उज्याउँदै
गहिरो पछुतो गर्छ ।
आफैँलाई सान्त्वना दिन
सुत्ने बेलामा
लोकल नै भए पनि
टुच्च पार्छ
र देशको चिन्ता गर्न बिर्सन्छ ।
ऊ देशका हरेक घटनाको
शब्दकोश बन्छ ।
प्रत्येक व्यक्तिको कुण्डली तयार पार्छ
र दोष मात्र खोट्याउँछ ।
आफूलाई जान्न कहिल्यै खोजेन,
अरूको भने सम्पूर्ण जानकारी राख्छ ।
आफूले गर्ने कर्तव्य
आर्यघाटमा दाहसंस्कार गर्छ ।
अरूले केही नगरेकोमा
सर्वत्र गुनासो बाँड्छ
र आफू बुद्धिजीवी भएको
स्वघोषणा गर्छ ।
आफूले केही गर्नु पर्दैन ।
गर्नेहरूले गरेकोभन्दा
गर्नेहरूले नगरेको
विश्लेषण गर्न आफूलाई खर्चन्छ
र कथित अभियन्ता बन्छ ।
अरूले केही नगरिदिएकाले
आफूले समृद्धिको गीत गाउन नपाएको
सर्वत्र गुनासो पोख्छ।
देश त खत्तम नै भएको
भाष्य निर्माणमा
जोडबल गर्छ
र
आगामी निर्वाचनमा आफूले जिते
समृद्धिको गीत गाउने
महत्त्वपूर्ण घोषणा गर्छ ।
हाल : टोरन्टो, क्यानडा