• २०८३ कार्तिक २०, बिहीबार

‘एक झुल्को घाम’ माथि परिचर्चा सम्पन्न

काठमाडौँ ।

कवि सूर्यप्रसाद लाकोजूको नवीन कविता सङ्ग्रह ‘एक झुल्को घाम’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू, काभ्रे शाखाको आयोजनामा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकारहरूले कृतिमाथि विमर्श गरेका थिए । कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिव राजु नापितले नेपाली साहित्यमा सूर्यप्रसाद लाकोजूजस्ता आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने स्रष्टाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । कवि लाकोजूले कविता सकारात्मक सन्देश प्रवाह गर्ने माध्यम हुनुपर्ने धारणा राख्नुभयो । कविताले सद्भाव, समभाव र सहभावको चेतना फैलाउनुपर्ने उहाँको भनाइ थियो ।

साहित्यकार तथा पत्रकार हरिसुन्दर छुकांले कृतिमाथि समालोचनात्मक टिप्पणी प्रस्तुत गर्नुभयो । उहाँले सङ्ग्रहका कविता घामजस्तै उज्याला र बलिया रहेको उल्लेख गर्दै तिनका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना र कविको काव्यचेतनाका विविध पक्षबारे चर्चा गर्नुभयो । कार्यक्रममा साहित्यकार कृष्णकुमार वैद्य, नवराज दाहाल ‘उत्साही’, विजयराम कर्माचार्य, सिद्धिबहादुर कर्माचार्य, पत्रकार इन्द्रबहादुर थापा, सनम सुवाल, विपशना शाक्य, अन्जली तामाङ, हर्षनारायण कर्माचार्य, टीकाभक्त भोछिभोया, दिलीप श्रेष्ठ, विश्वराम मानन्धर र अर्चना कर्माचार्यलगायतले कृतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम शाखाका सभापति शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले कविता, मुक्तक, गीत, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद र कथालगायत विधामा कलम चलाउँदै आउनुभएको छ । ‘एक झुल्को घाम’ उहाँको सातौँ कविता सङ्ग्रह हो । उहाँ लामो समयदेखि साहित्यिक पत्रकारितामा पनि सक्रिय हुनुहुन्छ ।