कविता
अजान पढिरहेका छन्
मौलवी साहेब
कुनै तिलस्मी मूरली
धैवत धुनमा
बजिरहे जस्तै
धोइ–पखाली
सारा संसारका कोलाहललाई
शब्दबाट अवतरित हुन्छन्
अल्लाह
अनि उठ्दा उठ्दै
निःशब्दसम्म पुग्छ
त्यो आलाप,
गाँसिएको छ मूर्त एउटा करुणा
बीच–बीचमा जब लिन्छन् विराम
मुखर देखि मुखरित मौन
विलिन हुन्छ आन्तरिक्षमा
तर, कुन्नी
पचासौं प्रश्न
उठ्नथाल्दछ मनमा
एउटा यस्तो व्यक्तिका लागि
जसलाई मैले कहिल्यै देखेको छैन
चिनेको पनि त छैन
बस यतिमात्र कि
उनी उता पढ्छन् अजान
अनि यता चुर्लुम्म उन्मेषमा डुबेर सुन्छु म
जबसम्म सकिदैन अजान
कतै अन्ततिर जाँदैन
मेरो चित्त अनि कान
आह, कुनै दिन
कसैले मलाई
मौलवी साहेबको छेउमा
पुर्याइदिए हुन्थ्यो ।।
मैथिलीबाट नेपाली अनुवादः विजेता चौधरी
तरानन्द वियोगी