समाचार
काठमाडौँ ।
कृतिकार तारा खत्री रोकायाको नयाँ कृति ‘जीतको उज्यालो’ विमोचन गरिएको छ। भेरी साहित्य समाज केन्द्रीय समिति र पूर्णतारा फाउन्डेसन नेपालको संयुक्त आयोजनामा २६ गते आयोजित कार्यक्रममा कृति सार्वजनिक गर्नुका साथै परिचर्चा गरिएको हो । भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष मीनाकुमारी बरालको सभापतित्व तथा प्रा.डा. गोपालप्रसाद शर्मा अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी तथा साहित्यकार वीरेन्द्रप्रसाद जैसी, दीपेन्द्रबहादुर सिंह र प्रजापति नेगीले कृतिमाथि परिचर्चा गरेका थिए । कार्यक्रममा दसैँ–तिहार, नेपाल संवत् र छठपर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।
समारोहमा प्राज्ञ सनत रेग्मी, डा. हरिप्रसाद तिमिल्सिना, किरण पौडेल आचार्य, खगेन्द्रगिरी कोपिला र महानन्द ढकाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। अग्रज लेखक नरेन्द्रजंग पिटर, निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष डा. पुष्करनाथ रिजाल, सिर्जना साहित्य प्रतिष्ठानका महासचिव जीतबहादुर शाह, प्रगतिशील लेखक संघ बाँकेकी अध्यक्ष चरित्रा शाह र मध्यपश्चिम स्रष्टा समाज बाँकेका अध्यक्ष बीपी अस्तुलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो। भेरी साहित्य समाजका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गर्नुका साथै समाजको आठौँ अधिवेशन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्वाचन मण्डललाई मायाको चिनो प्रदान गरिएको थियो । समाजका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिजालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव सुन्दर गुरुङले गरेका थिए ।
