• २०८३ कार्तिक ९, आईतवार

विराटनगरमा विवश पोखरेलको एकल कविता वाचन

विराटनगर ।

प्राज्ञ कवि विवश पोखरेलको एकल कविता वाचनसँगै ‘सङ्गीतसँग काव्य बैठकी’को पहिलो मासिक शृङ्खला आइतबार विराटनगरमा सम्पन्न भएको छ । स्वर सङ्गम सङ्गीतालय विराटनगरका कुशेश्वर राईको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रारम्भ महिमा शर्माले दुर्गा सप्तशतीमा आधारित दसैँको मालश्री धुन सामूहिक रूपमा गाएर स्वागत गरेकी थिइन् ।

कार्यक्रममा कवि पोखरेलले ‘पहाड’, ‘प्रतिकूल समयको बिम्ब’, ‘निस्तब्ध किनारामा’, ‘ऊसँगको भेटमा’, ‘शब्दस्मृतिमा आमा’, ‘बुद्धिकान्तको घडी’, ‘एउटी नगरवधुको डायरी’, ‘स्वास्नी’, ‘गुलाफ सञ्चै छ ?’, ‘बग्दै–बग्दै जाने छोरासँग’, ‘इच्छा’, ‘निषिद्ध बस्तीमा’, ‘बुद्धको मृत्यु’, ‘सेतो घर’, ‘अहिले गाउँमा केही छैन’, ‘छोरी’ र ‘शालिनी’लगायत कविता वाचन गरेका थिए ।

तीन दशकदेखि आठ दशकसम्मको लामो साहित्यिक यात्रामा निरन्तर सक्रिय पोखरेल मुक्तक, कथा र कवितामार्फत नेपाली साहित्यमा योगदान पु¥याउँदै आएका स्रष्टा हुन्। अग्रजप्रति सम्मान र अनुजप्रति स्नेह राख्ने सरल तथा मिजासिलो व्यक्तित्वका रूपमा परिचित पोखरेलले आफ्नो जीवनको लामो समय साहित्य साधनामा समर्पित गरेका छन् ।

वाचन गरिएका कवितामाथि चर्चित कवि मनु मञ्जिलले टिप्पणी गर्दै कविताका विविध पक्षबारे चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण साहित्यकार शुभलक्ष्मी लम्सालले गरेकी थिइन् । सङ्गीत र कवितालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजित बैठकीको पहिलो शृङ्खलाले विराटनगरको साहित्यिक तथा सांगीतिक वातावरणलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।