समाचार
झापा ।
झापाको सताक्षीधामस्थित गोलोक गोवर्धन गौशालाले आयोजना गरेको जिल्ला स्तरीय भक्तिपरक छन्द कविता वाचन प्रतियोगितामा हरि पराजुली प्रथम भएका छन् । गौशालाको सभाहलमा आयोजित प्रतियोगितामा जयप्रसाद आचार्य द्वितीय, जीवनहरि शर्मा तृतीय र मोक्ष खतिवडा सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा झापाका २७ जना कवि तथा कवयित्रीले सहभागिता जनाएका थिए। सहभागी स्रष्टाहरूले गाईको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व, गौरक्षाको आवश्यकता र गाई संरक्षणसम्बन्धी विषयलाई समेटेर भक्तिपरक छन्दमा कविता वाचन गरेका थिए । श्री गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजले गाईको महत्त्व समाजका सबै तहसम्म पु¥याउन र गौरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको बताए। साहित्य र सिर्जनाका माध्यमबाट गाईको महत्त्व उजागर गर्दै गौरक्षाको अभियानलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।
साहित्यकार कमलप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका ६० भन्दा बढी साहित्यकार तथा विभिन्न सङ्घसंस्थाका अध्यक्ष र प्रतिनिधिसहित एक सयभन्दा बढीको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गोलोक गोवर्धन गौशालाका सचिव मदनमोहन अधिकारीले गरेका थिए ।
