• २०८३ आश्विन २७, मंगलवार

कविता प्रतियोगितामा प्रथम भए करुण सुवेदी र द्वितीय भइन केवारा भट्टराई

काठमाडौं ।

टोखा नगरपालिकाद्वारा आयोजित खुला शिक्षक कविता प्रतियोगितामा करुण सुवेदी प्रथम भएका छन् । ‘सपनाको सहर, हाम्रो टोखा नगर’ शीर्षकमा आयोजित प्रतियोगितामा करुण सुवेदी प्रथम, केवारा भट्टराई द्वितीय र होमनाथ सुवेदी तृतीय भएका छन् भने सान्त्वना पुरस्कार पाउने लक्ष्मी गहते र चन्दिरा गुरुङ छन् ।

टोखा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत २४ जना शिक्षकहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा शिक्षकहरूले टोखाको कला, संस्कृति, मौलिकता, सम्भावना र विकासका विषयलाई कवितामार्फत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने स्रष्टाहरूलाई टोखा नगरपालिकाले प्रमाणपत्र सहित नगद प्रदान गरेको छ। नगरपालिकाले शिक्षकभित्र रहेको साहित्यिक प्रतिभा उजागर गर्ने तथा सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । ‘कला, संस्कृतियुक्त, स्वच्छ, समुन्नत टोखा नगर’ निर्माणको परिकल्पनासँग जोडिएको यस कार्यक्रमले स्थानीय साहित्यिक प्रतिभाको पहिचान र प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।