• २०८३ आश्विन २३, शुक्रबार

रिजालको लघुकथासंग्रह ‘बेचैन मन’ सार्वजनिक

काठमाडौं ।

साहित्यकार तथा साहित्यिक पत्रकार डा. नवराज रिजालको लघुकथा कृति ‘बेचैन मन’को एक कार्यक्रमबीच सडक विमोचन भएको छ । बागबजारमा आयोजित सडक कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई लगायतले कृति सार्वजनिक गरे ।

सडक विमोचन अभियानको १८औँ शृंखलामा कृति विमोचन गर्दै प्रमुख अतिथि डा. भट्टराईले सकारात्मक सोचका साथ लेखिएको विमोचित कृतिको खुलेर प्रशंसा गरे । भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले कृतिभित्रका लघुकथाले देशको परिस्थिति र परिवेशका विषयमा बोलेको बताए । साहित्यकार ध्रुव मधिकर्मीले रिजालको लेखनधर्मिता निकै सबल रहेकाले लघुकथाले समसामयिक विषयमा सशक्त भाव व्यक्त गरेको चर्चा गरे । डा. रिजालको कृतिमाथि कथाकार रामकुमार पण्डित र शेखर अर्यालले पनि चर्चा गरे ।

सडक विमोचन कार्यक्रमका संयोजक साहित्यकार बद्रीप्रसाद ढकालले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै यस अभियानमा साथ र सहयोग दिने सबैलाई धन्यवाद दिए ।