कथा
बेलबारी ।
बेलबारी साहित्य विकास समिति, मोरङले मुक्तककार राजु परियारको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक गरेको छ। शनिबार बेलबारी–२ स्थित रमिते सामुदायिक वन उपभोक्ता समितिको सभाकक्षमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङलगायत अतिथिले कृति सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तामाङले मानव समुदायले आदिम कालदेखि नै सिर्जना र श्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै ‘रापका ज्वारभाटा’ले राजु परियारलाई स्थापित मुक्तककारका रूपमा चिनाउने विश्वास व्यक्त गरे। शोषण र विभेदरहित समाज निर्माणका लागि यस्ता सिर्जनात्मक ‘ज्वारभाटा’ आवश्यक रहेको उनको भनाइ थियो ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले सङ्ग्रहमा देशको इतिहासदेखि वर्तमानसम्मका विविध विषयलाई पीडा, आक्रोश र ऊर्जाका रूपमा प्रस्तुत गरिएको बताए। युवामा बढ्दै गएको लागूऔषध प्रयोग तथा ग्लोबल वार्मिङजस्ता समसामयिक विषयमा पनि साहित्यकारहरूले कलम चलाउनुपर्ने उनले बताए । विशिष्ट अतिथि ईरानराईले राजु परियार बहुपदीय मात्र नभई बहुमुखी प्रतिभाका सर्जक भएको बताए । उनका अनुसार सङ्ग्रहमा राजनीति तथा सत्तासम्बन्धी १०२, सामाजिक विभेदसम्बन्धी २०, मायाप्रेमसम्बन्धी ६६ र विविध विषयका २४४ गरी ४३२ मुक्तक समेटिएका छन् ।
कृतिमाथि टिप्पणी गर्दै विनोद विवश घिमिरेले केही कमीकमजोरी भए पनि सङ्ग्रहमा धेरै राम्रा र चोटिला मुक्तक रहेको बताए। प्रगतिशील लेखक सङ्घ कोसी प्रदेशका अध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’ले भावना, विषयवस्तु र सशक्त प्रस्तुतिका कारण सङ्ग्रहका मुक्तक अनुभवी प्रगतिशील मुक्तककारका खारिएका सिर्जनाजस्ता रहेको धारणा राखे ।
मुक्तककार परियारले समाजमा बढ्दै गएको विकृति र विसङ्गतिलाई आफूले अनुभूत गरेका आधारमा समाज सुधारको उद्देश्यसहित मुक्तकमा प्रस्तुत गरेको बताए। कार्यक्रमका अध्यक्ष तथा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले कृति प्रकाशनका लागि परियारले मेहनत गरेको उल्लेख गर्दै बेलबारीमा प्रकाशनपूर्व पाण्डुलिपिमाथि छलफल गर्ने परम्परा विकास गरिएको बताए ।
कार्यक्रममा भरत बर्बरिक, सरन परियार, शिव पराजुली ‘सहयात्री’, रूपनारायण श्रेष्ठ र छात्रा सीता थापालगायतले कृतिभित्रका तथा आफ्ना रचना वाचन गरेका थिए । समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन साहित्यकार जेबी थुलुङले गरेका थिए। कार्यक्रममा साहित्यकार, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।
