समाचार

कुनै समय
शरद फक्रिन्थ्यो आँखाहरूमा,
वसन्तको सुवास हुन्थ्यो हावाभरि-
मौसमहरू आउँथे,
जान्थे,
नियमित चक्रजस्तै ।
चैत लाग्नासाथ
गहुँका बाला झुल्थे बारीभरि
र हिमाल टल्किन्थ्यो
आमाको अनुहारमा ।
तर अचेल
मौसम आकाशमा फेरिँदैन,
फेरिन्छ
केवल क्यालेन्डरका पानाहरूमा ।
वर्षा
कहिले ओइरिन्छ
डुबानले अत्तालिएको खेतमाथि,
र अनाहकमा बगाउँछ
नदी, बस्ती र पुराना सम्झनाहरू ।
कहिले थोपरिन्छ खँडेरी
प्यासले छटपटाइरहेका गराहरूमा ।
पहिले
भाद्रका साँझहरूमा
हरिया पाखाहरू
बादलको सेतो घुम्टी ओढेर
शान्त आकाशमुनि निदाउँथे ।
र दिनको बेला
रोपारहरू
घुम ओढेर
फाँटमा रोपाइँ गरिरहेका हुन्थे ।
तर अहिले
त्यही पाखा
डढेलोले दनदनी बलेको हुन्छ,
र समथर खेत
चरचरी फुटेको शरीरजस्तै
उल्टै घाममा सेकिँदै गरेको हुन्छ ।
बालबालिकाहरूलाई थाहा छैन-
कस्तो हुन्थ्यो असार पन्ध्र,
कस्तो हुन्थ्यो दही- चिउरा ।
उनीहरू बुझ्छन्
बर्खा भनेको
कुनै भीषण बाढीको नाम हो ।
अथवा कहिलेकाहीँ
खतरनाक दावाग्नीको नाम हो ।
शिशिर र हिउँद
केवल फेसबुकमा देखिन्छन्,
हजुरबाको हत्केलामा होइन ।
फागुनले अब रङ होइन,
प्रदुषित धुलो फैलाउँछ हावामा ।
हामीले मौसम भुलेका होइनौं,
मौसमले हामीलाई चिन्न छाडेको हो ।
किनभने हामीले
प्रकृतिको अनुहार जलाएका छौं-
विकासको तापमा,
उत्तर-आधुनिक आकाङ्क्षाको रापमा ।
कहिलेकाहीँ
कुनै घमाइलो साँझ
पुरानो एलबमजस्तै आँगनमा ओर्लिन्छ,
त्यति बेला
हामी मौन भएर सोच्छौं-
के हाम्रा नातिनातिनाहरूले
कहिल्यै महसुस गर्न पाउलान-
के हो एक साँचो मौसम ?
दीपक चौलागाइँ