समाचार
बेलबारी, मोरङ ।
साहित्यकार तथा नाटककार ईरान राईको बालएकाङ्की सङ्ग्रह ‘जिउँदा सपनाहरू’ सार्वजनिक गरिएको छ। बेलबारी साहित्य विकास समितिको आयोजनामा शनिबार बेलबारी–१ स्थित सगरमाथा इङ्ग्लिस स्कुलमा आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार तथा पूर्वसांसद हर्कमान तामाङ, कृतिकार ईरान राई, नाटक विषयका विद्यावारिधि डा. गोपीकृष्ण खतिवडा र शिल्पी थिएटर काठमाडौंका निर्देशक घिमिरे युवराजले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् । नगरप्रमुख राईले नाटकले विद्यार्थीलाई सिर्जनशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै ‘जिउँदा सपनाहरू’ समाज र शिक्षाका लागि उपयोगी कृति भएको बताए। वरिष्ठ साहित्यकार तामाङले नाटकले मानिसलाई सही मार्गमा डो¥याउन प्रेरित गर्ने भएकाले कृतिले पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कृतिकार ईरान राईले २०४२/०४३ सालदेखि नाटक लेखन, निर्देशन तथा मञ्चनमा सक्रिय रहेको स्मरण गर्दै अहिलेका बालबालिकालाई स्क्रिनको अत्यधिक प्रयोगबाट टाढा राखी सिर्जनात्मक गतिविधिमा जोड्ने उद्देश्यले बालएकाङ्की लेखेको बताए । समीक्षक डा. गोपीकृष्ण खतिवडाले केही संशोधनको आवश्यकता भए पनि सङ्ग्रहका एकाङ्की उत्कृष्ट र मञ्चनयोग्य रहेको बताए। बालबालिकासँगै शिक्षक, अभिभावक र नीतिनिर्माताले समेत पढ्नुपर्ने कृति भएको उनको भनाइ थियो। रङ्गकर्मी घिमिरे युवराजले एकाङ्कीहरू उत्कृष्ट रहेको उल्लेख गर्दै मञ्चनका क्रममा थप क्रियाकलाप समेट्न सकिने सुझाव दिए सङ्ग्रहमा ‘कुसुनी’, ‘कपाल र नङपालिस’, ‘तामा र टुसा’, ‘सुध्रिने बाचा’, ‘जिउँदा सपनाहरू’, ‘भूमिका’, ‘ट्युसन’, ‘आजको खाना’, ‘म्याग्मादेखि लाभासम्म’ र ‘डर’ गरी १० बालएकाङ्की समेटिएका छन्। पुस्तकमा पीडीएफमार्फत पढ्न र अनलाइन भुक्तानी गर्न छुट्टाछुट्टै क्यूआर कोडसमेत राखिएको छ।
डिजिटल युगमा बालएकाङ्कीको महत्त्वबारे अन्तरक्रिया
सोही अवसरमा बालबालिकालाई स्क्रिनको अत्यधिक प्रयोगबाट जोगाउँदै सिर्जनशील बनाउन ‘डिजिटल युगमा बालएकाङ्कीको महत्त्व’ विषयक अन्तरक्रिया पनि आयोजना गरिएको थियो । अन्तरक्रियामा पूर्वसांसद हर्कमान तामाङले विषय संवेदनशील र समसामयिक भएकाले यसबारे थप छलफल आवश्यक रहेको बताए । नगरप्रमुख दिलप्रसाद राईले सूचना प्रविधिको दुष्प्रभाव न्यूनीकरण गर्न बालबालिकालाई सानैदेखि नाटक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउनुपर्नेमा जोड दिए ।
नाटककार ईरान राईले नाटकले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकासमा प्रभावकारी भूमिका खेल्ने बताए। बालबालिकालाई दैनिक कम्तीमा एक घण्टा नाटक अभ्यासमा सहभागी गराउन सकिने उनको धारणा थियो । उपप्राध्यापक डा.गोपीकृष्ण खतिवडा, उपप्राध्यापक डा. दीपक न्यौपाने र रङ्गकर्मी घिमिरे युवराजले बालएकाङ्कीले बालबालिकालाई स्क्रिनको अत्यधिक प्रयोगबाट टाढा राख्दै सिर्जनशील बनाउन सहयोग गर्ने बताए। प्याब्सन मोरङका अध्यक्ष जगत् बस्नेत, शब्द थिएटर पथरीका निर्देशक जीवन बराल तथा रङ्गकर्मी–साहित्यकार भरत गुरागाईँ ‘बर्बरिक’ले प्रस्तुत विचारमाथि टिप्पणी गरेका थिए ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न पहिलो कार्यक्रमको स्वागत उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले र सञ्चालन साहित्यकार जेबी थुलुङले गरेका थिए। अन्तरक्रियाको सञ्चालन विकास बुढाथोकीले गरेका थिए । अन्तरक्रिया बेलबारी–२ स्थित सुदर्शन रिसोर्टमा आयोजना गरिएको थियो। दुवै कार्यक्रममा साहित्यकार, नाट्यकर्मी, चलचित्रकर्मी, शिक्षाविद् तथा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
