• २०८३ आश्विन २३, शुक्रबार

खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’

काठमाडौँ ।

वरिष्ठ साहित्यकार तथा महाकाव्यकार खेमनाथ दाहाललाई काठमाडौंमा सम्पन्न ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’मा ‘महाकाव्य साधना सम्मान’ प्रदान गरिएको छ । नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तार तथा विशेषतः महाकाव्य लेखनमा पु¥याएको विशिष्ट योगदानको कदरस्वरूप दाहाललाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। राष्ट्रियता, समसामयिकता र युद्ध साहित्यका विषयमा समेत सशक्त कलम चलाउँदै आएका दाहालले नेपाली साहित्यलाई नेपालबाहिरसमेत परिचित गराउन योगदान पु¥याउँदै आएका छन् ।

तेह्रथुममा जन्मिएका दाहाल लामो समयदेखि साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध पक्षलाई सिर्जनामा अभिव्यक्त गर्दै आएका छन्। शब्दलाई साधना, सिर्जनालाई जीवनदर्शन र साहित्यलाई समाजको ऐनाका रूपमा आत्मसात् गर्दै नेपाली वाङ्मयको विकासमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ । साहित्य र संगीतका स्रष्टाहरूलाई एउटै मञ्चमा सम्मान गरिएको समारोह सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङ विशेष अतिथिका रूपमा सहभागी थिइन् । समारोहमा वरिष्ठ गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो ।

दाहालका श्रद्धाञ्जलि कवितासङ्ग्रह, रश्मी खण्डकाव्य, योद्धा काव्य, हावर्डको चौतारीमा कवितासङ्ग्रह, श्वेतपत्र महाकाव्य, म त बन्दी भएको छु कवितासङ्ग्रह, यात्राको सिकिर्नी नियात्रा, अहोरात्र उपन्यास तथा सिर्जनामा दृष्टि भूमिका लेखनसङ्ग्रह प्रकाशित छन् । विविध विधामा कलम चलाउँदै आएका दाहालका कृतिले नेपाली साहित्यमा उनको बहुआयामिक स्रष्टा व्यक्तित्व स्थापित गरेको छ ।