समाचार
काठमाडौँ ।
बिर्तामोडमा जारी किताब मेला २०८३ मा नेपाली साहित्य लेखनको सौन्दर्यबोध, भाषिक शिल्प र सिर्जनात्मकतामाथि गहन बहस भएको छ। मेलाको तेस्रो दिन आयोजित ‘लेखकसँग साहित्य संवाद’मा साहित्यलाई प्रभावकारी र कलात्मक बनाउने तत्त्वबारे अध्येता तथा सर्जकहरूले विचार राखेका हुन् । साहित्य पत्रकार मञ्च झापा, झापाली साहित्य समाज र ईसा बुक प्रकाशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली साहित्य, समालोचना तथा दर्शनका अध्येता महेश पौडेल र प्रा. डा. अरुण गुप्ताले ‘नेपाली भाषा तथा साहित्य लेखनमा सौन्दर्यको महत्त्व’ विषयमा विचार प्रस्तुत गरेका थिए ।
साहित्यकार तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य लेखनमा सौन्दर्यबोध, भाषिक शिल्प, सिर्जनात्मकता तथा रचनालाई प्रभावकारी बनाउने विविध पक्षमाथि छलफल गरिएको थियो। कार्यक्रमको सहजीकरण साहित्य पत्रकार मञ्चका संयोजक तथा झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले गरेका थिए । कार्यक्रममा लेखक, साहित्यकार, शिक्षक, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साहित्यिक लेखन र पत्रकारितामा सक्रिय सर्जकलाई जोड्दै साहित्य पत्रकार मञ्चले विभिन्न साहित्यिक गतिविधिको नेतृत्व तथा सहजीकरण गर्दै आएको संयोजक बरालले बताए ।
बिर्तामोडस्थित ईसा बुक स्टेसनरीको छेउमा रहेको ‘द स्यान्डविच पोइन्ट क्याफे’मा सम्पन्न संवादले साहित्यकार तथा विद्यार्थीलाई आफ्नो लेखन थप परिष्कृत र प्रभावकारी बनाउन सहयोग पुगेको कार्यक्रम संयोजक भट्टराईले बताए । मेलाको तेस्रो दिनसम्म ४ सय ९० जनाले अवलोकन गरिसकेको र १ सय २ जनाले पुस्तक खरिद गरेको मेला संयोजक केशवप्रसाद मैनालीले जानकारी दिए ।
‘समाजमा पठन संस्कृति हराउँदै गएको अवस्थामा उत्सवको उपहार सबैलाई किताबको बहार’ भन्ने मूल नारासहित असोज १६ देखि ३० गतेसम्म आयोजना भइरहेको किताब मेला २०८३ को यो चौथो संस्करण हो । आयोजकका अनुसार मेलाले पठन संस्कृतिको विकाससँगै लेखक, पाठक, प्रकाशक र साहित्यिक संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ । मेलाको मिडिया पार्टनरका रूपमा नेपाली साहित्य डट कम रहेको छ ।
