• २०८३ आश्विन २७, मंगलवार

लोमश वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

झापा ।

लोमश वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा कृष्ण ‘कोपिला’को कृति उसको अतीत र प्रतिष्ठानको प्रकाशन बइँसेरी–२ लोकार्पणसँगै स्रष्टा सम्मान तथा विभिन्न संस्थालाई कदरपत्र प्रदान गरिएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्य तथा लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि न्यौपानेसहित मञ्चासीन अतिथिहरूले दीप प्रज्वलन गरी वार्षिकोत्सव तथा लोकार्पण समारोहको उद्घाटन गरेका थिए । समारोहमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, होटल व्यवसायी महासङ्घका अध्यक्ष टी.आर. भण्डारी तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्य–सचिव डा. धनप्रसाद सुवेदी विशेष अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा लोकप्रसाद ढकाल, चक्र दवाडी, समीर राई, रमेश रुपाखेती, नरेन्द्र वज्राचार्य, नीलकण्ठ तिवारी, केशव नेपाल, जगन्नाथ खतिवडा र डी.पी. ढकाललगायतले कृतिकार कृष्ण ‘कोपिला’को लेखनशैली, कृतिमा अभिव्यक्त अनुभूति तथा साहित्यिक योगदानबारे चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए। लेखक कृष्ण ‘कोपिला’ले आफ्नो साहित्यिक यात्रा र कृति सिर्जनाका अनुभव प्रस्तुत गरेका थिए । यसै अवसरमा सम्मानित व्यक्तित्व युवराज इटनीका बारेमा जयराम बिडारीले परिचय प्रस्तुत गरेका थिए। डा. सावित्री श्रेष्ठले समेत कार्यक्रममा धारणा राखेकी थिइन्। सम्मान ग्रहण गर्दै इटनीले लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफूले सगरमाथाको शिखर चढेजस्तो गौरव अनुभूति गरेको बताउँदै प्रतिष्ठानप्रति आभार व्यक्त गरे ।

वार्षिकोत्सवकै अवसरमा समाज तथा साहित्यका क्षेत्रमा योगदान पु¥याएका कौशल इङ्लिस बोर्डिङ स्कुल, हिमरश्मि हाई स्कुल, रानीबन तेल उद्योग तथा स्नोई होराइजन ट्रेक्स एन्ड एक्स्पिडिसनलाई कदरपत्र प्रदान गरिएको थियो। सोही अवसरमा प्रतिष्ठानका नयाँ आजीवन सदस्यलाई सदस्यता प्रमाणपत्रसमेत वितरण गरिएको थियो । प्रतिष्ठानका सचिव तथा माइन्ड प्लसका प्रबन्ध निर्देशक नवीन पल्लवले सहजीकरण गरेको कार्यक्रममा ठूलो सङ्ख्यामा साहित्यकार तथा साहित्यप्रेमीको उपस्थिति रहेको थियो।