• २०८३ आश्विन १९, सोमबार

अनन्त अर्यालको ‘अन्तरिक्षको आँगन’ विमोचन तथा सिर्जना उत्सव– २०८३ सम्पन्न

वालिङ–वालिङ ।

निबन्धकार अनन्त अर्यालको पाँचौँ साहित्यिक कृति तथा पहिलो निर्बन्ध–आलेख सङ्ग्रह ‘अन्तरिक्षको आँगन’ विमोचन गरिएको छ। गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङको आयोजना तथा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६ को सहकार्यमा वालिङ बहुमुखी क्याम्पसमा कृति विमोचन तथा विमर्श कार्यक्रम आयोजना गरिएको हो । अग्रज स्रष्टा विश्वप्रेम अधिकारीको प्रमुख आतिथ्य तथा कृतिकार अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृति सार्वजनिकपछि दीपक लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यामबहादुर कुँवर र चक्रबहादुर पराजुलीले कृतिका साथै अर्यालको व्यक्तित्व र निर्बन्ध–आलेखनमाथि समीक्षात्मक मन्तव्य राखेका थिए। अर्यालले आफ्नो लेखन यात्राबारे निर्बन्धीय मन्तव्य प्रस्तुत गरेका थिए । सुन्दर स्वदेश प्रकाशनद्वारा प्रकाशित तथा युवा स्रष्टा मिलन समीरद्वारा सम्पादित ‘अन्तरिक्षको आँगन’मा २९ वटा समसामयिक निर्बन्ध–आलेख समेटिएका छन् । यो अर्यालको पाँचौँ साहित्यिक कृति हो ।

वालिङ–१४, गाएडाँडामा जन्मिएका अर्याल हाल जनसेवा माध्यमिक विद्यालय, डुम्रेभञ्ज्याङका प्रधानाध्यापक छन्। त्रिभुवन विश्वविद्यालयबाट एमए तथा एमएडसम्मको अध्ययन पूरा गरेका उनी नेपाली साहित्य सिर्जनामा सक्रिय छन्। तीलाकुमारी स्मृति साहित्य पुरस्कार र भेषजविन्दु साहित्यिक पुरस्कारबाट सम्मानित अर्याल गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्षसमेत हुन् । कार्यक्रमको दोस्रो चरणमा ‘अन्तरिक्षको आँगन सिर्जना उत्सव–२०८३’ आयोजना गरिएको थियो। उत्सवमा चिन्तु गिरी, लेखनाथ काफ्ले, नीलकण्ठ लम्साल, सीताराम अधिकारी, अग्निकुमार रेग्मी ‘पल्लव’, प्रेमबन्धु सुवेदी, लीलाम्बर ढुङ्गाना, शोभाकान्त रेग्मी, गुरुप्रसाद ढकाल, पारिश्वर न्यौपाने, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठक, प्रेमप्रसाद सुवेदी, विनुप्रसाद पराजुली, वसन्त खनाल, कमल बगाले, चण्डिकाप्रसाद भट्टराई र डिल्लीराम भण्डारीलगायत स्याङ्जाली स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। उदय श्रेष्ठ र लक्ष्मीपति पौडेलले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा युवा स्रष्टा शम्भु अर्यालले स्वागत गरेका थिए भने वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक संयोजक मिलन समीरले संयोजन गरेका थिए ।