• २०८३ आश्विन १६, शुक्रबार

लेन्काष्टरमा ‘गजल साँझ’: प्रेमदेखि प्रवासी जीवनसम्मका स्वर गुञ्जिए

लेन्काष्टर, पेन्सिलभेनिया ।

साहित्य कला संगमको आयोजनामा सम्पन्न ‘गजल साँझ’मा प्रेम र बिछोडसँगै जन्मभूमिको माया, विस्थापन, श्रमजीवी जीवन र सामाजिक यथार्थका भावहरू प्रस्तुत भएका छन्। गजलकार सविन शर्मा (सविन धिमाल) र त्रिविक्रम नेउपानेका गजल प्रस्तुतिले व्यक्तिगत अनुभूतिदेखि प्रवासी जीवनका साझा अनुभवसम्मका विषयलाई समेटेको थियो । लेन्काष्टर तथा आसपासका क्षेत्रबाट कलाकार, साहित्यकार र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा बालबालिकाले नेपाली सांस्कृतिक नृत्यमार्फत अतिथिको स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन गजेन ढकालले गरेका थिए भने पण्डित हेम धिताल प्रमुख अतिथि थिए ।

कार्यक्रममा बालकलाकार दीपशिका घिमिरेले त्रिविक्रम नेउपाने र जेनिसा ढकालले सविन शर्माको साहित्यिक परिचय वाचन गरेका थिए। त्यसपछि दुवै गजलकारले पालैपालो आफ्ना रचना प्रस्तुत गरेका थिए । गजलमा प्रेमलाई मिलन र बिछोडमा मात्र सीमित नराखी जीवनका अनुभूति र सिकाइसँग जोडिएको थियो। त्रिविक्रम नेउपानेको गजलमा रहेको-
हिजोको त्यो मुस्कान पनि आज उदास बन्न सक्छ,
नजिकै भए पनि बिचमा धेरै आकाश बन्न सक्छ ।।
भन्ने शेरले बदलिँदो सम्बन्ध र स्मृतिको गहिराइलाई अभिव्यक्त गरेको थियो ।
परदेशिनुपर्ने बाध्यता र जन्मभूमिको सम्झना पनि गजल साँझका प्रमुख विषय बने। परिवार र परिचित परिवेश छाडेर नयाँ भविष्यको खोजीमा निस्किएको मनको पीडा—
जन्मिएको त्यही माटो त्यही आँगन छाडेर आएँ,
बुवा–आमाको न्यानो बन्धन छाडेर आएँ ।
जस्ता पङ्क्तिमार्फत प्रस्तुत गरिएको थियो ।

विस्थापन र पहिचानका विषयसमेत गजलमा मुखरित भए । ‘जन्मेको माटोबाटै उखेलिएको इन्सान हुँ म, नक्साले नचिने पनि यही देशको पहिचान हुँ म’ भन्ने शेरले भूगोल परिवर्तन भए पनि जन्मभूमिसँगको आत्मीय सम्बन्ध कायम रहने भाव व्यक्त गरेको थियो । प्रेम र प्रवासी जीवनका अनुभूतिसँगै रचनाहरूले श्रम र गरिबीको यथार्थलाई पनि समेटेका थिए। सविन धिमालको ‘नाम्लाले दुवै आँखा छोपेकै बेलामा, बाटो लम्बिन्छ भारी बोकेकै बेलामा’ भन्ने शेरले श्रमिक जीवनको कठिनाइलाई चित्रण गरेको थियो। केही रचनामा बजारले मानवीय श्रमलाई हेर्ने दृष्टिप्रति व्यङ्ग्यसमेत गरिएको थियो। आमाको सम्झना र जीवनको अनिश्चिततासँग जोडिएका रचनाले कार्यक्रमलाई थप भावपूर्ण बनाएका थिए ।

गजल वाचनका क्रममा कवि भगि फुयल र सञ्चालक गजेन ढकालले एक–एक कविता प्रस्तुत गरेका थिए। प्रमुख अतिथि पण्डित हेम धितालले गजलकारद्वयलाई बधाई तथा शुभकामना दिँदै आफ्नै एक गजलसमेत सुनाएका थिए। नेपाली गजल सिर्जनामा पु¥याएको योगदानको कदर गर्दै सविन शर्मा र त्रिविक्रम नेउपानेलाई प्रशंसापत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो। साहित्य कला संगमका अध्यक्ष दीपेश चापागाईं र प्रमुख अतिथि धितालले उनीहरूलाई सम्मान गरेका थिए । अध्यक्ष चापागाईंले कार्यक्रमलाई स्मरणीय भएको बताए । गजलकारहरूको प्रस्तुति, दर्शक–श्रोताको सहभागिता, व्यवस्थित कार्यक्रम र आत्मीय आतिथ्यले साँझ विशेष बनेको उनको भनाइ थियो। बालबालिकाको स्वागत नृत्य र गजलकारहरूको परिचय प्रस्तुतिले नयाँ पुस्ताको सहभागिता देखाएको उल्लेख गर्दै उनले स्थानीय स्रष्टालाई सम्मान र प्रेरणा दिने यस्ता कार्यक्रमले साहित्य र कलालाई जोड्न सहयोग पुग्ने बताए ।

सविन शर्मा (सविन धिमाल) भुटानको गेलेफू, लोद्राईमा जन्मिएका हुन्। जीवनको प्रारम्भिक चरणमै गोलधाप शरणार्थी शिविर पुगेका उनले बीए अंग्रेजी साहित्यसहित विभिन्न व्यावसायिक शिक्षा हासिल गरेका छन्। पेशाले आईटी नेटवर्क इन्जिनियर रहेका शर्मा नेपाली साहित्यमा पनि सक्रिय छन्। उनको गजलसङ्ग्रह ‘ऐनाअघि उभिएर’ प्रकाशित छ । उनी भुटान गजल मञ्चको सल्लाहकार समितिमा समेत आबद्ध छन् । त्यसैगरी त्रिविक्रम नेउपाने भुटानको सुरेमा जन्मिएका हुन्। उनले करिब १८ वर्ष गोलधाप शरणार्थी शिविरमा बिताएपछि संयुक्त राज्य अमेरिकामा पुनर्वास भएका हुन्। हाल पेन्सिलभेनियाको लेन्काष्टरमा बस्दै आएका नेउपाने पेशाले लजिस्टिक्स म्यानेजर हुन् । विगत १५ वर्षभन्दा बढी समयदेखि साहित्यमा सक्रिय उनी विशेषगरी गजल, कविता र कथा लेखनमा रुचि राख्छन्। उनी भुटान गजल मञ्चको सल्लाहकार समिति सदस्य तथा साहित्य कला संगमका संस्थापक एवं कार्यकारी निर्देशक हुन् । उनले उद्घोषण तालिमसमेत दिँदै आएका छन् भने आफ्नो पहिलो कवितासङ्ग्रह प्रकाशनको तयारीमा छन् ।

कार्यक्रमको समापनमा सांस्कृतिक संयोजक होम घिमिरेले गजलकार, अतिथि, कलाकार, सहयोगी तथा उपस्थित साहित्यप्रेमीलाई धन्यवाद दिएका थिए। उनले कार्यक्रमलाई सहयोग गर्ने दियो फ्युजन र त्यसका प्रोप्राइटर मोहन प्रधानप्रति आभार व्यक्त गरे। कार्यक्रमपछि सहभागीहरूले सामूहिक तस्बिर खिचाएका थिए। दियो फ्युजनको सहयोगमा सहभागीका लागि खानपानको समेत व्यवस्था गरिएको थियो ।