• २०८३ आश्विन १२, सोमबार

गायिका तथा मोडल रिया खत्रीको ‘युके शहर’ सार्वजनिक

काठमाडौं ।

गायिका तथा मोडल रिया खत्रीको नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक भएको छ । रियाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत उक्त प्रस्तुति दर्शक–श्रोतामाझ ल्याएकी हुन् । गायिका रिया खत्री र गायक क्रिश क्षेत्रीको स्वर तथा अभिनय रहेको ‘युके शहर’लाई रियाले आफ्नो सांगीतिक यात्राको नयाँ अध्यायका रूपमा लिएकी छन् । लामो मेहनत, संघर्ष र तयारीपछि तयार गरिएको उक्त प्रस्तुति नेपालमा रहेका दर्शक–श्रोतासँगै विदेशमा रहेका नेपाली समुदायलाई समेत लक्षित गरेर निर्माण गरिएको उनले बताएकी छन् ।

‘युके शहर’ आफ्नो लागि एउटा गीत मात्र नभई सांगीतिक यात्राको सुन्दर सपना भएको रियाको भनाइ छ । “धेरै मेहनत र उत्साहका साथ तयार गरेको यो प्रस्तुतिलाई नेपाल तथा विदेशमा रहेका नेपाली दर्शक–श्रोताले माया गरिदिनुहुनेछ भन्ने विश्वास छ,” उनले भनिन् । करिब तीन वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय रियाले यस अवधिमा आफ्नै तीनवटा एल्बम सार्वजनिक गरिसकेकी छन् । गायनसँगै मोडलिङमा समेत सक्रिय उनले विभिन्न म्युजिक भिडियो तथा सांगीतिक प्रस्तुतिमा अभिनय गर्दै आएकी छन् ।