समाचार
काठमाडौं ।
डा. नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२’ का लागि छनोट भएको छ । कविडाँडा साहित्य समाज, चितवनले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यानमध्ये उत्कृष्ट कृतिलाई प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष महिलाको राज्यसत्ता र सामाजिक भूमिकालाई केन्द्रमा राखिएको ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको हो ।
‘राजमाता’ले तत्कालीन समाजमा महिलाप्रति रहेको परम्परागत धारणासँगै समय, आवश्यकता र क्षमताका आधारमा ती धारणालाई चुनौती दिँदै महिलाले राज्य सञ्चालनमा निर्वाह गरेका प्रभावशाली भूमिकालाई सशक्त रूपमा चित्रण गरेको समाजले जनाएको छ । यही पक्षलाई उपन्यासको प्रमुख विशेषता र सशक्त आधारका रूपमा मूल्याङ्कन गरिएको छ ।
यस वर्ष पुरस्कार छनोटका लागि कविडाँडा साहित्य समाजले नयाँ विधि अपनाएको थियो । सुरुमा १६ उत्कृष्ट आख्यानकृतिको लामो सूची तयार पारिएकोमा त्यसबाट ८ उत्कृष्ट कृति छनोट गरी सार्वजनिक गरिएको थियो । ती आठमध्ये भदौ २३ गते तीन उत्कृष्ट आख्यानकृतिका रूपमा क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’ र नीलम कार्की निहारिकाको ‘राजमाता’ घोषणा गरिएको थियो ।
उत्कृष्ट तीन कृतिमध्येबाट ‘राजमाता’लाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार अर्पणको मिति, स्थान र समय भने पछि सार्वजनिक गरिने कविडाँडा साहित्य समाजले जनाएको छ ।
