समाचार
काठमाडौँ ।
हामी र हाम्रो कृति समाजको ३१औँ कृति गोविन्द्रराज तिमिल्सेनाको ’जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण भएको छ । बालुवाटारस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहलमा कृतिको लोकार्पण भएको हो । हामी र हाम्रो कृति समाजका विशिष्ट आजीवन सदस्य गोविन्दराज पौडेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वरिष्ठ साहित्यकार एवम् लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, मुक्तक अभियन्ता एवं हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष सुनिल अधिकारी, नेपाल पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, शारदा मासिकका सम्पादक विमल भौंकाजी, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल लगायत लेखक साहित्यकार विशिष्ट अतिथि रूपमा रहेका थिए ।
वरिष्ठ समालोचक प्राडा भरत कुमार भट्टराईले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए । प्रमुख अतिथिले दीप प्रज्वलन गरेर अगाडि बढाइएको कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक सदस्य पूर्णबहादुर श्रेष्ठ ’हृदयङ्कृत’ गरेका थिए। संस्थाका सचिव बद्री उप्रेतीले उपस्थित साहित्यकार एवम् साहित्यप्रेमी महानुभावहरूको स्वागत गरेका थिए । संस्थाका अध्यक्ष मदनप्रसाद नेपालले संस्थाको गतिविधि र आगामी दिनमा गरिने कार्यक्रमबारे विस्तृत रूपमा जानकारी गराएका थिए । लगभग ६५ स्रष्टा उपस्थित रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरूले कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना दिँदै हामी र हाम्रो कृति समाजले अहिलेसम्म गरेको कामको प्रशंसा गर्दै संस्थाबारे आआफ्ना धारणा राखेका थिए ।
कृतिकार गोविन्द्रराज तिमिल्सेनाले कृति प्रकाशनमा अहोरात्र खट्ने संस्थाका अध्यक्ष मदनप्रसाद नेपाल लगायत सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका थिए । उनले दुर्गमबाट आएको एकजना स्रष्टालाई यति धेरै माया र सम्मान गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै कार्यक्रम सभ्य र भव्य रूपमा सफल बनाउन उपस्थित भएका सम्पूर्ण साहित्यकार एवम् साहित्यप्रेमी महानुभावप्रति दिल खोलेर कृतज्ञता व्यक्त गरेका थिए । उपस्थित साहित्यकारहरूमध्येबाट बिचबिचमा लोकार्पित कृतिबाट मुक्तक वाचन गरिएको थियो । प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले गहन अध्ययन गरेर विमोचित कृतिका विषयमा दिइएका उदाहरणीय शब्दहरूले भविष्यमा केही सिक्न मिल्ने प्रेरणाका वाक्यहरू स्मरणीय थिए । कृतिकारलाई संस्थाका अध्यक्ष र प्रमुख अतिथिले मायाको चिनो प्रदान गरेका थिए ।
