कहानी-हिन्दी
काठमाडौँ ।
नेपाली साहित्यका सशक्त आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले बिहीबार ‘आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक सङ्गोष्ठी आयोजना गर्यो । सङ्गोष्ठीमा प्रा डा. लक्ष्मणप्रसाद गौतमले ‘विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा इतरजातीय नारीपुरुष सम्बन्ध’, प्रा डा. नारायणप्रसाद चालिसेले ‘विश्वेश्वरप्रसाद कोइरालाका आख्यानको प्रगतिशील वैचारिक समाजदर्शन’ र डा. अनुपमा रेग्मीले ‘विश्वेश्वरप्रसाद कोइराला कथामा प्रयुक्त दिग्काल’ विषयमा गोष्ठीपत्र प्रस्तुत गर्नुभयो । गोष्ठीपत्र प्रस्तुतकर्ताले नेपाली साहित्यको आख्यान क्षेत्रमा कोइरालाको विशिष्ट एवं बहुआयामिक योगदान रहेको चर्चा गर्दै उहाँका रचनामाथि नयाँ दृष्टिकोणबाट विश्लेषण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा पूरक प्रस्तोताका रूपमा प्रा डा. रमेशप्रसाद भट्टराई, प्रा डा. ज्ञानु पाण्डे र प्रा डा. गोपीन्द्र पौडेलले कोइराला नेपाली आख्यान क्षेत्रका धरोहर भएको उल्लेख गर्दै प्रस्तुत गोष्ठीपत्रमाथि टिप्पणी तथा सुझाव दिनुभएको थियो । वरिष्ठ साहित्यकार डा. विष्णुविभू घिमिरे, प्रा डा. जीवेन्द्र गिरी, प्रा हेमचन्द्र नेपाल, प्रा पुरुषोत्तम दाहाल, प्रा डा. रामप्रसाद ज्ञवाली, प्रा डा. जगदीशचन्द्र भण्डारीलगायतले विमर्श गर्नुभएको थियो । वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानमाथि प्रकाश पार्दै आख्यानमा केन्द्रित सङ्गोष्ठी वर्तमान सन्दर्भमा महत्त्वपूर्ण रहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका-६ का वडाध्यक्ष भुवन लामाले कोइरालाको लोकतन्त्रप्रतिको योगदानबारे चर्चा गर्दै साहित्य सदनलाई आफ्नो साथ र सहयोग निरन्तर रहने बताउनुभयो । सदनका अध्यक्ष प्रा डा. हेमनाथ पौडेलले कोइरालाको नेपाली राजनीति र साहित्य दुवै क्षेत्रमा विशिष्ट योगदान रहेको बताउनुभयो ।
