• २०८३ भाद्र ३०, मंगलवार

कमल रिजालको २१औँ कृति ‘दर्शनागार’ सार्वजनिक

काठमाडौँ ।

लेखक तथा पत्रकार कमल रिजालको २१औँ कृति ‘दर्शनागार ः दर्शनको वैश्विक रूपरेखा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको ३२० पृष्ठको पुस्तकमा दर्शनसँग सम्बन्धित विभिन्न प्रामाणिक विषय समेटिएका छन् । पुस्तकमा पौरस्त्य दर्शन, पाश्चात्य दर्शन, इस्लामिक दर्शन, अन्तरसंयोजन दर्शन र प्रयोगात्मक प्रश्नवादी दर्शनलगायतका विषय समावेश छन् ।

लेखक रिजालका अनुसार करिब १० वर्षको अध्ययन, चिन्तन र अनुसन्धानपछि पुस्तक तयार पारिएको हो । पुस्तकका पूर्वार्धका तीन खण्ड सम्बन्धित दर्शनका मूल ग्रन्थबाट उद्धृत सामग्रीमा आधारित छन् । अन्तरसंयोजन दर्शन र प्रयोगात्मक प्रश्नवादी दर्शन भने पौरस्त्य, पाश्चात्य तथा इस्लामिक दर्शनका विभिन्न पक्षको समन्वय, समीक्षा र विश्लेषणका आधारमा आफूले तयार पारेको उनले बताए । कार्यक्रममा साहित्यकार डा. नवराज लम्सालले पौरस्त्य दर्शन निर्माणको प्रमुख आधार वेद रहेको उल्लेख गर्दै ‘दर्शनागार’ले मानिसलाई आफ्नै कर्ममाथि प्रश्न गर्दै आत्मसमीक्षा गर्न प्रेरित गर्ने बताए । पुस्तकमा अध्यात्मवादी र भौतिकवादी दर्शनको तुलनात्मक अध्ययन गरिएको उल्लेख गर्दै उनले दुवै धारालाई समन्वय गरिएकाले कृतिलाई समन्वयवादी दर्शनको दृष्टिले समेत अध्ययन गर्न सकिने धारणा राखे ।

पुस्तकमाथि समीक्षा गर्दै प्राडा. भागवत ढकालले पौरस्त्य दर्शनको सुरुआत नै जिज्ञासाबाट भएको बताए । पूर्वको आध्यात्मिकता, पश्चिमको वैज्ञानिकता र नेपालको बहुसांस्कृतिक पक्षलाई संयोजन गरेर नयाँ दर्शनको विकास गर्न सकिने उनको भनाइ थियो । पौरस्त्य र पाश्चात्य दर्शनको तुलनात्मक अध्ययनका लागि पनि ‘दर्शनागार’ महत्त्वपूर्ण कृति रहेको उनले बताए । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले ‘दर्शनागार’ दर्शन विधामा फरक ढङ्गले लेखिएको कृति भएको बताए । समीक्षक शैलेन्द्र अधिकारीले पुस्तकले दर्शनप्रति आम पाठकमा जिज्ञासा बढाउने र दर्शनका जटिल विषयलाई जान्न तथा बुझ्न सहज बनाउने धारणा राखे।

शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले लेखक रिजालका धर्म, दर्शन तथा अध्यात्मसम्बन्धी कृति प्रकाशन गर्दै आएको बताए । आगामी दिनमा पनि यस्ता विषयका पुस्तक प्रकाशनलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
‘दर्शनागार’को मूल्य ७९५ रुपैयाँ निर्धारण गरिएको छ ।