वसन्तवेला
काठमाडौँ ।
काठमाडौँको गौरीघाटस्थित मोक्षदा स्कुलले कवि तथा समालोचक प्रा. डा. देवी नेपाललाई ‘मोक्षदा विशेष स्रष्टा सम्मान–२०८३’ प्रदान गरेको छ । १६१औँ मोती जयन्तीका अवसरमा आयोजित विशेष समारोहमा उहाँलाई सम्मान गरिएको हो । विद्यालयका प्रधानाध्यापक ठाकुर तिमल्सिनाको अध्यक्षतामा सम्पन्न समारोहमा विगत तीन दशकदेखि सिर्जनात्मक तथा समालोचनात्मक लेखन, प्रकाशन, शिक्षण, प्रशिक्षण तथा बालबालिका र युवापुस्ताको जागरणका माध्यमबाट नेपाली भाषा–साहित्यमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै नेपाललाई सम्मान गरिएको बताइएको छ ।
मोक्षदा स्कुलले हरेक वर्ष मोती जयन्तीका अवसरमा एक जना विशिष्ट स्रष्टालाई सम्मान गर्दै आएको छ । यसअघि पुरुषोत्तम दाहाल, व्याकुल माइला, कुन्ती मोक्तान, नवराज लम्साल र यादव खरेललगायत स्रष्टा सम्मानित भइसकेका छन् । पुरस्कार संस्थापक हरिशरण खनालका अनुसार यस वर्ष सम्मानित नेपालका कविता, खण्डकाव्य, बालकाव्य र समालोचनालगायत विधामा झन्डै तीन दर्जन कृति प्रकाशित छन् । उनका छन्द–पराग, लेखन शिल्प, माटो र मुटु, सलादजस्तो देश, कुखुराको बिहे र समुद्रमन्थनलगायत कृति छन् ।
नेपालले नर्सरीदेखि स्नातकोत्तरसम्मका तीन दर्जन नेपाली पाठ्यपुस्तक लेखेका छन् भने प्रज्ञा नेपाली लोककथा, नेपाली लोकवार्ताकोश र युगकवि सिद्धिचरणका गद्यकवितालगायत डेढ दर्जन महत्वपूर्ण पुस्तक सम्पादन गरेका छन् । सम्मान ग्रहण गर्दै प्रा.डा. नेपालले मोतीराम भट्टको छोटो जीवनमा भएको बहुआयामिक योगदान स्मरण गर्नुभयो । जम्मा ३० वर्षको जीवन बाँचेका भट्टले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै उनले मोतीरामलाई नेपाली कविताको माध्यमिक कालका शुभारम्भकर्ता, शृङ्गारिक धाराका प्रवर्तक तथा नेपाली गजलका थालनीकर्ताका रूपमा स्मरण गर्नुभयो ।
भट्टले जीवनी लेखन, समालोचना, मौलिक नाटक, पत्रकारिता, सम्पादन, प्रकाशन, पुस्तकालय स्थापना तथा साहित्यिक अन्तरक्रियालगायत क्षेत्रमा पु¥याएको योगदान पनि उनले चर्चा गर्नुभयो । मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा प्राप्त सम्मानले आफूलाई खुसीभन्दा बढी दायित्वबोध गराएको नेपालले बताउनुभयो । सोही अवसरमा आयोजित उपत्यकाव्यापी नवौँ अन्तरविद्यालयस्तरीय मोतीराम स्मृति रनिङ सिल्ड गजल गायन प्रतियोगिता–२०८३ मा सैनिक आवासीय माध्यमिक विद्यालय, भक्तपुरकी छात्रा युनी गौतम प्रथम भएकी छन् । गजलकार शीतल कादम्बिनीको मुतकारिब बहरको गजल वाचन गर्दै गौतम प्रथम भएकी हुन् । नेपाल वेद विद्याश्रम, वनकालीका छात्र विपिन दाहाल रेणुका भट्टद्वारा लिखित हजज बहरको गजल वाचन गर्दै द्वितीय भए ।
अनलज्योति स्कुलका आर्यन थपलिया राधा कँडेलको मुजारे बहरको गजल वाचनबाट तृतीय तथा सोमसरला वेद विद्याश्रमका नीराजन उपाध्याय लेखनाथ दाहालको हजज बहरको गजल वाचनबाट सान्त्वना भए । युवा गजलकारद्वय ज्ञानु विद्रोही र केशव भट्टराई निर्णायक रहेको प्रतियोगितामा उपत्यकाका २३ विद्यालयका २३ जना प्रतियोगीले विभिन्न गजलकारका बहरबद्ध गजल वाचन गरेका थिए । शिक्षक हरिशरण खनालले आफ्ना छोरी अञ्जली र युथिकाका साथमा आमाबुबाको नाममा स्थापना गरेको सम्मान तथा प्रतियोगिता अनाममण्डलीको सहकार्यमा विगत नौ वर्षदेखि आयोजना हुँदै आएको छ । समारोहमा गजलकारहरू रूपक अलङ्कार, ज्ञानु विद्रोही, केशव भट्टराई, योगेन्द्र पौडेल, गोमा रेग्मी र सुशील आचार्यले गजल वाचन गरेका थिए । लेखनाथ दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा शिक्षासेवी नितेश राई, ध्रुव पौडेल, मेहरमान सुनारलगायतको उपस्थिति थियो ।
