• २०८३ भाद्र १९, शुक्रबार

उराठ बस्तीमा !!

सुशिला शर्मा ‘शिलु’

सुशिला शर्मा ‘शिलु’

उराठ बस्तीमा आउँदा एक्कासि
विपत्तिका भेलहरू,
सँगै डुल्न थाल्दछन्
भय-त्रासका ज्वारभाटाहरू।
सांसारिक क्रियाका जब बन्द हुन्छन्
सबै गोरेटाहरू,
प्रलयका ठूला-ठूला बज्रपातहरू
आफ्नै आँगनको डिलसम्म
आइपुगेर,
त्यही भेलमा आफैँसँगै
बग्नु छ भन्ने सोच्दै गर्दा
एउटा मानव मस्तिष्कको चेतना
कति दयनीय हुन्छ !
मानवताको उपहास जब प्रकृतिबाट नै
हुन थाल्छ,
त्यो समय कति दर्दनाक
हुने रहेछ!

प्रलय जब आफ्नै आँगन हुँदै
जीवनमाथि बज्रिन्छ,
ओहो !
त्यो कालो, क्रूर,
अराजक हुरीसँगै मडारिएर
आएको त्यो हिंस्रक ज्वाला,
कालभन्दा पनि डरलाग्दो,
अत्यन्तै विध्वंसात्मक,
तीव्र गतिमा भोकाएर आएको
गर्जनसहितको झंकारले
जब-जब निल्न थाल्छ
मानव अवशेषहरू,
रोकिन्छ न्यायको पथ,
बन्द गराउने रहेछ आँसु,
भाव र चेतनाका
सम्पूर्ण द्वारहरू।
रक्ताम्य शरीरसँगै बग्ने
रहेछ दुःख, रहेछ वेदना
र विछोडका ज्वालामुखीका आँधी ।

प्रलयले बनाएको उराठ बस्तीमा
आक्रान्त छन्
चलिरहेका केही सासहरू,
लेदोले पुरिएर अन्तिम पटक
बन्द हुन आँटेका
मुटुका धड्कनहरू
र हजारौँ रोकिइसकेका
जीवनहरू ।

त्यहाँ बस्ती मात्र उजाडिएको छैन,
अन्तिम पटक गुहार मागिरहेका
आत्माका धड्कन पनि छन् ।
प्रकृतिको विनाकारणको
बदलासँग गुनासो छ ।
सृष्टिपूर्वदेखि मानेको
ईश्वरको प्रार्थना अर्थहीन
हुनुको कारण सोध्नै छ ।
एक-दुई पापीको कर्मको
द्वेष हजारौँ मानवमाथि
पोखेर अन्यायपूर्वक बस्ती
उजाडिएकोमा,
मानव जुनी नै धिक्कारेर
बिदा भएको आत्माले
धर्तीसँग सोध्ने प्रश्न जीवितै छ ।

त्यहाँ बस्ती मात्र हराएका छैनन्,
त्यो घाइते जीवितको एउटा
सुन्दर संसार हराएको छ ।
छियापरेको शरीर
र मृत देहका अवशेष देख्दा
सृष्टिको अर्थ अनि निष्कर्ष दुवै
हराएको छ ।
चारो खाँदै गरेको पन्छीदेखि
घाँस खाँदै गरेको पशुसम्मको
ईश्वरप्रतिको विश्वास हराएको छ।
त्यहाँ बाँच्नु र मर्नुबीचको अर्थ
हराएको छ ।
समग्र मानव जीवनदेखि
प्राणीको अस्तित्वसम्मको
अर्थ हराएको छ ।।।


✍️ सुशिला शर्मा ‘शिलु’