समाचार
वीरगन्ज ।
गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक, कवि तथा वरिष्ठ पत्रकार वसन्तप्रकाश उपाध्यायको निधन भएको छ । पर्साको वीरगन्ज महानगरपालिका-४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा अचेत अवस्थामा भेटिनुभएका उपाध्यायलाई प्रहरीले उद्धार गरी नारायणी अस्पताल पु¥याएको थियो । तर, अस्पताल पु¥याउनासाथ चिकित्सकहरूले उहाँको निधन भइसकेको पुष्टि गरेका थिए ।
२०२५ साल वैशाख १५ गते तनहुँमा जन्मनुभएका उपाध्याय नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो । उहाँले गोरखापत्र संस्थानको महाप्रबन्धकका साथै त्यहाँबाट प्रकाशित हुने प्रतिष्ठित साहित्यिक मासिक पत्रिका ’मधुपर्क’को उपसम्पादक र सम्पादकका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।
नेपाली साहित्यमा कविता, गजल तथा निबन्ध लेखनमार्फत उहाँले विशिष्ट पहिचान बनाउनुभएको थियो । ५८ वर्षीय स्वर्गीय उपाध्यायका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको असामयिक निधनले नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
