समाचार
भद्रपुर ।
झापा भद्रपुरको ऐतिहासिक भद्रपुर पुस्तकालयको आयोजनामा कवि तथा मुक्तककार लता खरेल को मुक्तक संग्रह तथा बालकवि सफलता फुयलको कविता संग्रहको एकसाथ लोकार्पण गरिएको छ । बरिष्ठ साहित्यकार तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्य र भद्रपुर नगर उपप्रमुख राधा कार्कीको विशेष आतिथ्यमा वीरेन्द्र माविको सभाकक्षमा भएको कार्यक्रममा खरेलको मुक्तक संग्रह शिशिरको जून तथा बालकवि फुयलको कविता संग्रह आभा को एकसाथ लोकार्पण गरिएको हो । लोकार्पण पछि दुबै कृतिकारका संग्रहबाट साहित्कारहरु कृष्ण सुवेदी निराकार,लक्ष्मी रायमाझी, रोम अधिकारी, उमेश लुइंटेल लगायतले मुक्तक र कविता पाठ गर्नुभएको थियो ।
खरेलको मुक्तक संग्रहको समीक्षा साहित्यकार चूडामणि बाशिष्ठले र बालकवि फुयलको कविता संग्रहको समीक्षा सहित्यकार नमुना निरौला दाहालले गर्नुभएको थियो । सो अवसरमा गजलकार तथा कवि केशव आचार्य, लीला लेखनका अभियन्ता डा. रत्नमणि नेपाल र साहित्यकार विवश पोखरेललाई सम्मानपत्र, दोसल्ला र फुलमालासहित सम्मान गरिएको थियो । सम्मान पत्रको बाचन साहित्यकारहरु देवीचरण भण्डारी र लक्ष्मी पौडेलले गर्नु भएको थियो। कार्यक्रममा पत्रकार तथा गीतकार चन्द्र भण्डारी, बरिष्ठ समालोचक कविराज न्यौपाने,सम्मानित व्यक्तित्व आचार्य र डा. नेपाल, हरिप्रसाद अधिकारी यात्री, वीरेन्द्र माविका प्रधान अध्यापक खिलाराज कोइराला, दुर्गा मावि गरामनीका प्रधानअध्यापक लक्ष्मी सिवाकोटी, साहित्यकार निर्मला कोइराला,केसु विरही, बाबुराम पोखरेल, नगर उपप्रमुख राधा कार्की लगायतले भद्रपुर पुस्तकालयले पुनर्जीवन पाएको केही दिनमै आमा छोरीको कृति एकसाथ लोकार्पण गराएर ऐतिहासिक काम गरेको भन्दै शुभकामना दिनुभएको थियो ।
पुस्तकालयका संयोजक चिन्तामणि दाहालको अध्यक्षता, बालकवि सफलताको स्वागत र सहित्यकार लीला अनमोल र शिक्षक तुलसी खरेलले पालैपालो संचालन गरेको कार्यक्रममा कवि तथा मुक्तककार खरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । भोटेकोशीका बाढीबाट निधन भएकाहरु प्रति शोकव्यक्त गर्दै एक मिनेट मौन धारण गरी सुरु गरिएको कार्यक्रममा स्वागत गीत बालकलाकार हुवस न्यौपानेले र राष्ट्रिय गीत रमन आचार्यले गाउनु भएको थियो भने गुरुकुलका विद्यार्थीहरुले स्वस्ति वाचन गरेका थिए ।
पुस्तकालयका सहसचिव डिल्लीरमण नेपाल, कवि महेन्द्र कोइराला र प्रकाशक विक्रम फुयलले सहजीकरण गरेको कार्यक्रममा कृतिकारका आमाबुवा र परिवारहरुलाई पनि सम्मान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनु प्रदान गरिएको थियो । विराटनगरबाट डेढ दर्जन साहित्यकारको उपस्थिति रहेको कार्यक्रममा हेटौंडा,इलाम र झापाका विभिन्न क्षेत्रका साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
