• २०८३ भाद्र ५, शुक्रबार

आफ्नै स्वरको खोजीमा

सुबास प्रधान

सुबास प्रधान

सम्बन्धले
आफ्नै भार थेग्न नसकेर
एक दिन
भीरबाट हाम फाल्छ ।

हाँगा पक्रेर निदाइरहेको पातले
भुइँमा झरेपछि मात्र देख्छ
वर्षौँदेखि
आफ्नो सम्झिएको रुख त
उसको रहेनछ ।

सोफी
यतिखेर म
तिम्रै जिन्दगीको कोलाज हेरिरहेको छु
एक्लो
नितान्त एक्लो
सहवासले चिथोरेपछि
आफ्नै बास खोज्न हिँडेको
सुनसान गोरेटोको
एकल यात्री ।

तर
तिमीलाई आज एक्लो देखेर
म आफ्नै कवितालाई रुवाउन चाहन्नँ।
कहिलेकाहीँ
तिमीलाई एक्लै छाडेर
गाडी छुट्नु भनेको
दुर्घटनाबाट बाँच्नु पनि हुन्छ ।

छुटिनु भनेको सकिनु होइन
फेरि सुरु हुनु पनि हो
जहाँ
एउटा मान्छेले
वर्षौँदेखि बिर्सिएको
आफ्नै स्वर
खोजिरहेको हुन्छ ।

हाल- बेलायत