• २०८३ भाद्र ४, बिहीबार

बासुदेव पोखरेलको ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक

काठमाडौं ।

सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको शब्द सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक भएको छ। नेपाली मौलिक तीज संस्कृति, लोकपरम्परा र पर्यटन प्रवद्र्धनलाई एउटै सांगीतिक यात्रामा जोड्ने उद्देश्यले गीत सार्वजनिक गरिएको हो । गीतमा रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको छ भने शब्द बासुदेव पोखरेल र लय रमेशराज भण्डारीको रहेको छ ।

निर्माण पक्षका अनुसार गीतलाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रचार–प्रसार गर्ने उद्देश्यले तयार गरिएको हो । गीतका शब्दमा गुल्मीको रेसुङ्गा, धुर्कोट दरबार, बागलुङको कालिका, ढोरपाटन, पोखरा, चितवन, इलाम र काठमाडौं लगायतका प्रमुख पर्यटकीय गन्तव्य समेटिएका छन् । ‘घुमौँला, फिरौँला र नेपाल चिनौँला’ भन्ने भावमार्फत आन्तरिक पर्यटन प्रवद्र्धनसँगै नेपाली मौलिक संस्कृति र पहिचानलाई सशक्त बनाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।

आकर्षक भिडियोमा कलाकारको अभिनय
गीतको भिडियो निर्देशक निशान बानियाँले तयार गरेका हुन्। भिडियोमा ममता राना मगर, कैलाश कठायत, गङ्गा बोहोरा र सन्तोष थापालगायत कलाकारको अभिनय रहेको छ। भिडियोको सम्पादन सुजन कोइरालाले गरेका छन् । सञ्चारकर्मीका रूपमा सक्रिय पोखरेलले पछिल्लो समय मौलिक नेपाली गीत–संगीतमार्फत समाज, संस्कृति र पर्यटनलाई जोड्ने सिर्जनालाई निरन्तरता दिँदै आएका छन् ।

‘रेलिमै घुमौँला फिरम्ला’ पनि यही अभियानको निरन्तरता रहेको बताइएको छ। सार्वजनिक भएसँगै गीतले युट्युब तथा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाउन थालेको निर्माण पक्षले जनाएको छ । तीज पर्वको अवसरमा सार्वजनिक गरिएको गीतले नेपाली मौलिकता, सांस्कृतिक पहिचान र आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।