समाचार
तिम्रो आँखाको गहिराइमा
नीलिमाभन्दा गाढा
मौनता देखेको छु
जहाँ शब्दहरू जन्मनुअघि नै
अर्थहरूका फूल खेल्न थाल्छन् ।
हिमालका सेता शिखरहरू
पत्थरयुक्त ढिस्का मात्र होईनन्
उज्यालो ओढेर उभिएका स्फटिक हुन्
उनीहरूको काखबाट
प्रेमका झरनाहरू
सधैँ सुसाइरहन्छन् ।
बिहानीको घामको झुल्कोमा
तिमी हाँसेको बेला
क्षितिजले आफ्नो सुनौलो आँचल फुकालेर
धरतीलाई ओढाइदिए जस्तो लाग्छ ।
म तिम्रा आँखाको गहिराईमा
आफ्नो अनुहार खोज्दै थिएँ
त्यहाँ त मेरो समग्र जीवन
दीपशिखा बनेर
प्रेमको भजनसँगै
आरती भै रहेको पो रहेछ ।
कुनै दिन समयले हामीबीच
दूरीको मरुभूमि रोप्यो भने
मलाई विश्वास छ
तिम्रो आँखाको एउटै दृष्टिले
त्यस मरुभूमिमा
ढकमक्कै नीलकमल फुलाइदिनेछ ।
प्रेम हातले समातिने वस्तु होइन
न ओठले बोलिने भाषा हो
प्रेम त त्यो ज्योति हो
जुन आपसी आँखाले
हृदयभित्र विश्वासको
अखण्ड कान्ति छर्न सक्छ ।
मायामा डुब्नेहरू हराउँदैनन्
उनीहरू त उज्यालो बन्छन्
सुगन्धित हुन्छन्
प्रेमको अनन्त आकाशमा
आपसी धड्कन बनेर
सधैँ बाँचिरहन्छन् ।
सीता अर्याल, गोरखा बजार । हाल- म्याडिसन, अमेरिका ।