• २०८० असोज ९ मङ्गलबार

आफ्ना लागि

बसन्त चौधरी

बसन्त चौधरी

जीवनका हरेक घडी
त्यसरी नै बिते
जसरी मनलागी आउँछ र जान्छ घाम
जसरी मनलागे वर्षन्छ र उड्छ बादल
घाम न आफ्ना लागि आउँछ
बादल न आफ्ना लागि वर्षन्छ

त्यसैले
आऊ हामी केही पल
आफ्ना लागि बाँचौँ
बाँचेका त थियौँ यसरी
केवल
सास आफ्नै थियो
ढुकढुकी अरूको
सपना आफ्ना थिए
पर्खाल दुनियाँको
सोचिरह्यो यही मनले
एक दिन यो पर्खाल हटेर
तिमी र म, म र तिमी
एक हुनेछौँं
हाम्रो धड्कन एक हुनेछ
कुनै दिन
घुम्नेछ यो संसार हाम्रोवरिपरि
बाँच्नेछौँ खुसी आफ्ना लागि
तर
न हट्यो पर्खाल
न हट्यो दुनियाँको नजर
आऊ आज हामी
यो पर्खाल भत्काऔँ र
बाँचौँ केही पल आफ्ना लागि !

अहिलेसम्म जति बाँच्यौँ
संसारको आवश्यकताअनुसार बाँच्यौँ
अरूकै लागि बाँच्यौँ
अरूकै लागि हाँस्यौँ
हाम्रा खुसी र रहरमाथि
धूलो जम्यो र छोप्यो मैलो पारेर
आऊ आज यो धूलोलाई पुछौँ
र यौटा गोधूलि साँझको
प्रेमिल साथमा
शून्यताको अँगालोभरि
चियाको वाफपछाडि झुकेका
तिम्रा दुई नजरलाई
एकपल्ट फेरि अनुभूत गरूँ
आऊ आज हामी यस्तै पलमा
एक-अर्कामा हराऔँ

छानेर
सम्बन्धहरूको भीडभाडबाट यौटा साथ र साथी
जसको साथले दिनेछ खुसी
जहाँ शून्यता बोलोस् र शून्यताले नै सुनोस्
आऊ आज ती शून्यताहरूलाई सजाय दिएर
वर्षौंवर्ष उमेर छोडिएका ती मोडहरूमा
निभ्न लागेका आशाका दियोहरूलाई
एकपटक नयाँ उज्यालो दिऊँ
धेरै बाँच्यौँ अरूका लागि
आऊ आज हामी हाम्रा लागि बाँचौँ

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)