• २०८३ आश्विन १३, मंगलवार

सात बाल पुस्तक विमोचित

काठमाडौं ।

बालकथामार्फत सिमान्त आवाज र पहुँचलाई अभिवृद्धि गर्ने उद्देश्यले लेखिएका सात बाल पुस्तक सार्वजनिक भएको छ । शिक्षाविद् केदारभक्त माथेमा, अग्रज बाल साहित्यकार गंगा कर्माचार्य, कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, बाल साहित्यकार तथा समीक्षक प्रमोद प्रधान, अधिकारकर्मी गौरी नेपाली, पुस्तकका लेखकलगायतले सात पुस्तकको विमोचन गरेका हुन् ।

पत्रकार सुशीला तामाङको संयोजनमा सञ्चालित ब्रिटिस काउन्सिलको लैंगिक सम्बन्धि कला कार्यक्रम ‘जेन्डर आर्टस्:  इक्वेल टुगेदर २०२५’ अन्तर्गत ‘अपराजिता कथा परियोजना’मा संयोजक तामाङको ‘आइतीको बिहे’, बिना थिङको ‘नामको कथा’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, शान्ति सापकोटाको ‘मितिनी’, ‘संजोग ठकुरीको ‘ममीघर’, ‘अस्मिता वादीको ‘हैतमाको हिम्मत’ र संगीता उराँवको सुर्जीको उज्यालो’ बालकथाका पुस्तक सिर्जना भएका छन् ।

परियोजनामा बाल वांगमय तथा अनुसन्धान केन्द्र र हामी दाजुभाइ संस्थाहरुले समेत सहकार्य गरेका छन् । बालकथाका पुस्तकहरुमा चित्रकारहरु रवीन्द्र मानन्धर, अनामिका गौतम र प्रज्वल थापामगरले चित्र सिर्जना गरेका छन् ।