समाचार
आज, मिति २०८४ साल भाद्र १२ गते । नातिनी अलिशा गिरीको जन्म दिन पारेर ” धनराज सरले” आफ्नो घर “खीबरामा “केही विशिष्ट प्रोफेसरहरू बोलाउनुभयो । खीबरा-खीर बछौली रापती, इबराको आफन्त, धरावासी र दमकवासीको मिलनविन्दु, जोर सिन्धु, दाजुभाइ हिन्दु । लेक्चर शुरू:
प्रोफेसर जगमोहन आजाद सुमेधाश्री : धनराज सर, हजुरको फेसबुक के भयो ?
धनराज सर : अति भयो, बन्द गरियो ।
प्रोफेसर निर्धक्क नारायण चौधरी: अरे सरकारे, अचेल के लेख्दै ?
धनराज सर : दोस्रो वसन्त नामको कथासङ्ग्रह निकाल्दै छु ।
प्रोफेसर अजेयनारायण सुमार्गी दाबिलेश्री : प्रेम र मित्रता के हो ?
धनराज सर : दुई नै दायित्व हो !मानवता हो । व्यवस्थापन हो । जति कम भयो उति राम्रो । मित्रताभन्दा पनि अतिरिक्त प्रेम खतरा हुन्छ, समाजमा प्याराडक्स छ, प्रेम नै अवैध छ, तर भित्र भित्र अति हुन्छ, मिलाएर ! पति र पत्नी त, अक्सर, सम्झौता हो । वास्तविक प्रेम, ईश्क, मोहबत, प्रेमी र प्रेमिकाको बीचमा हुन्छ, यो हुन्छ, गरिन्न । जहाँ पनि हुन्छ । जहिले पनि हुन्छ । हुनुपर्छ । नत्र आयु सकिन्छ ।
प्रोफेसर प्रीतम प्यारे रत्नश्री : अतिरिक्त प्रेमले त समाज छाडा हुन्न र ? मर्यादा अनुशासन खत्तम हुन्न ?
धनराज सर : समाज, यदि, भित्र भित्र हेरेमा,शोध गरेमा, अति गोप्य जीवन अध्ययन गरेमा, अर्थानुशासन र यौनानुशासनको हकमा, सधैं छाडा हो, थाहा नभएर मात्र, कम्बल ओढेर घिउ जसले पनि खान्छ । यो यस्तै हो ।
प्रोफेसर इमाननारायण आशुतोष महादेव झुवानीश्री: इमानदारीको कुनै मूल्य छैन समाजमा ?
धनराज सर: छ, मज्जाले छ । तर नगदनारायणको सामुन्ने इमान होचो देखिन्छ, लाग्छ, देखाइन्छ, बनाइन्छ । तर इमानको सामुन्ने हिमालेन्द्र पनि झुक्छ, झुकेको छ । पूर्णबहादुर बस्नेत, पूर्व प्राचार्यलाई हेरे हुन्छ । इमान, विवेक, मानवता, योग्यता, समर्पण, सज्जनताको सामुन्ने कुनै शक्ति पनि टिक्दैन । हो, केही समय भ्रमखेती गर्नसक्छ । इमानको भित्री कदर छ समाजमा ।
प्रोफेसर भानुप्रताप अनुगुञ्जनोपाध्याय किरणश्री : यो हुनुपर्छ हुनुपर्छ किन भनिन्छ ? अनि यो यसो गरेहुन्थ्यो उसो गरेहुन्थ्यो भन्नेले त्यो, आफैं किन नगरेको यारा ?
धनराज सर : किल्किलेमा समाएर प्रश्न गरियो साथी, मित्र । पाखण्ड, आडम्बरीपन, ढोंगमुक्त छैन समाज । अर्तीउपदेश दिन सजिलो छ । वेदान्त र मरणान्तको कुरा आइहाल्छ । नहुने भएर नै हुनुपर्छ हुनुपर्छ भनिएको हो यारा ! मिल्नुपर्नेहरू नमिलेर पनि हो ।
प्रोफेसर हिक्मतनारायण टीकापुरे थापाश्री : धनराज सर, नेपाली साहित्यमा चितवनको स्थान कहाँनेर छ ?
धनराज सर: यो त मेरी बघिनी सुपुत्री दीपेन्द्रकान्ता कानूनश्री ज्वालादेवी सरिता तिवारीको कचेहेरीले वा निसमालोचक बादशाह जोर एकनारायण र रमेश प्रभातको हो,मेरो होइन । म त साहित्यप्रेमी मात्र,साहित्यसेवी मात्र,साहित्यकार होइन । होइन, होइन । धेरै लेखेर साहित्यकार हुनेभए मालपोतको लेखन्दास हुनुपर्ने हो देवकोटा,सम र रामबाबु घिमिरे । साहित्यकार तारा होइन, सूर्य हो, जून हो । एक नम्बरी सुन हो ।
प्रोफेसर दिग्विजयराज गोस्वामी : धनराज सर,एउटा पिताको स्थायी शक्ति के हो ?
धनराज सर: अगर औलाद साथ दे तो बाप फौलाद बनजाता है । र,म त्यो भाग्यमानी बा, १००%. हाम्रो जोडी परमभाग्यमानी । अब जन्म दिन मनाउने है ?
प्रोफेसर सरलनारायण कमरेड बिस्फोट कदमश्री: आजको सम्वाद कस्तो लाग्यो गुरु बालाई ?
धनराज सर: आफैंसित, आफ्नै आत्मासित बोलेजस्तो, स्वसम्वाद ! नयाँ दिन नई रात, हिन्दी सिनेमाको सञ्जीवकुमारजस्तो, रमाइलो ।
धनराज गिरी