• २०८३ श्रावण ७, बिहीबार

अधिकारीको नयाँ गीत ‘या लिएर आऊ’ सार्वजनिक

काठमाडौँ ।

राष्ट्रिय पुरस्कारबाट सम्मानित साहित्यकार, लेखक तथा गीतकार डा. रुद्रनाथ अधिकारीको नयाँ गीत ‘या लिएर आऊ’ सार्वजनिक भएको छ । डा. अधिकारीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गायक निशान भट्टराईको स्वर रहेको छ ।

राजदरबारको कथावस्तुमा आधारित यस गीतले प्रेम, विरह, समर्पण, त्याग तथा मानवीय संवेदनालाई साहित्यिक गहिराइका साथ प्रस्तुत गरेको छ । प्रभावशाली शब्द, भावपूर्ण प्रस्तुति र जीवन्त अभिनयले गीतको भिडियोलाई थप आकर्षक बनाएको छ । गीतमा डा. अधिकारीको शब्द रचना तथा एआर रिमेश थापाको सङ्गीत रहेको छ । विक्रम बुढाथोकी, दिनेश विष्ट, बिना राउत र सङ्गीता शाहीको अभिनय रहेको उक्त भिडियो फिल्मी शैलीमा निर्माण गरिएको छ ।

भिडियोको निर्देशन दिनेश विष्टले गर्नुभएको हो भने सलिनाराज भण्डारीको कोरियोग्राफी, दीपक देउवाको सम्पादन र मिन रावलको रङ संयोजन रहेको छ । गीतकार डा. अधिकारी नेपाली साहित्य, संस्कृति र गीत-सङ्गीतको क्षेत्रमा निरन्तर सक्रिय व्यक्तित्व हुनुहुन्छ । समाज, संस्कृति, इतिहास र मानवीय जीवनका विविध आयामलाई समेट्ने उहाँका सिर्जनाले पाठक तथा श्रोतामाझ छुट्टै पहिचान बनाएका छन् । उहाँका थुप्रै साहित्यिक कृति तथा गीतहरू बजारमा आइसकेका छन् । हालै सम्पन्न राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२६) मा डा. अधिकारीद्वारा रचित ‘आमा’ गीतका लागि उहाँ वर्षको सर्वोत्कृष्ट गीतकार (सुगम सङ्गीत, पुरुष) विधाबाट सम्मानित हुनुभएको थियो ।

नयाँ गीत सार्वजनिक भएपछि डा. अधिकारीले आफ्नो साहित्यिक यात्रा अझ सशक्त रूपमा निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लोकगीत, प्रेमिल गीत, चेतनामूलक तथा सामाजिक सन्देश बोकेका सिर्जनाका माध्यमबाट नेपाली भाषा, साहित्य तथा मौलिक संस्कृतिको संरक्षणमा आफ्नो कलम समर्पित गरिरहने स्पष्ट पार्नुभयो । उहाँका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’, ‘मदहोस’, ‘आमा’, ‘अब अत्ति भइसक्यो जागौँ’ लगायतका दर्जनभन्दा बढी गीत श्रोता र दर्शकमाझ लोकप्रिय छन् ।