• २०८३ असार २९, सोमबार

तिलोत्तमा साहित्य सङ्गमको २२औँ शृङ्खला तथा भानुभक्तको भाषिक योगदानमाथि चर्चा सम्पन्न

तिलोत्तमा, रूपन्देही ।

नेपाली साहित्यका आदिकवि भानुभक्तको जन्मजयन्तीको पूर्व सन्ध्यामा तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको २२औँ शृङ्खला तथा भानुभक्तको भाषिक योगदानमाथि चर्चा शनिबार सहिद गङ्गालाल पुस्तकालय, तिलोत्तमा–१, ड्राइभरटोलमा भव्यताका साथ सम्पन्न भएको छ। “तिलोत्तमा प्रतिष्ठानको पहिचानः स्थानीय भाषा, कला तथा संस्कृतिको उत्थान“ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा.मुरारि पराजुलीले गर्नुभएको थियो ।

कार्यक्रममा बुद्धिसागर भट्टराई, लक्ष्मण ज्ञवाली, खगेन्द्र बस्याल, उद्धव देवकोटा, मोहन मरासिनी, सन्देश पाण्डेय, सङ्गम अनुरागी, श्रीराम नेपाली, शिव डुम्रे ,गुरुदत्त ज्ञवाली, ढालानन्द चालिसे, हरि देवकोटा लगायतका साहित्यिक व्यक्तित्वहरूले विविध विधाका आ–आफ्ना मौलिक रचना वाचन गर्नुभयो । वरिष्ठ साहित्यकार डा. मुरारि पराजुलीले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै भानुभक्तले नेपाली भाषिक एकीकरणमा पु¥याएको योगदानबारे विस्तृत चर्चा गर्नुभयो। साथै उहाँले वाचित रचनाहरूको समीक्षा गर्दै सहभागीहरूलाई रचना दीर्घकालीन बनाउन साधना र यस किसिमको साहित्यिक सत्सङ्गको आवश्यकता रहेको कुरा ओैल्याउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै पुस्तकालयका सदस्य सचिव लक्ष्मण ज्ञवालीले सहिद गङ्गालाल पुस्तकालयको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभयो त्यसैगरी पुस्तकालयका आजीवन सदस्य इश्वरीप्रसाद न्यौपानेले पुस्तकालयले तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानसँग सहकार्य गर्न पाउँदा हर्ष व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन कवि उद्धव देवकोटाले गर्नुभएको थियो र उहाँले साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिबार दिउँसो २ बजेदेखि हुने जानकारी गराउँदै कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठान नगर भित्रको स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा निरन्तर क्रियाशील रहँदै आएको एक मात्र संस्था हो ।