• २०८३ असार १७, बुधबार

अधिकारीको नाट्य कृति ‘नो सिग्नल’ सार्वजनिक

सुनसरी ।

डेढ दशकसम्म सृष्टि नाट्य समूहमार्फत रंगमञ्चमा सक्रिय भएर काम गरेका सुवास अधिकारीले आफ्नो नयाँ नाट्य कृति नो सिग्नल सार्वजनिक गरेका छन् । धरान रिडर्स ग्रुपको आयोजनामा आइतबार ‘नो सिग्नल’ को सार्वजनिक गरिएको हो । नाट्य लेखन, निर्देशन र अभियनमा रमाउँदा रमाउँदै स्विडेनको स्टकहोम पलायन भएका अधिकारीले नाट्य कृति नो सिग्नलमार्फत डिजिटल प्रविधिमा हराइरहेको आधुनिक समाजमा मानवीय सवेदनाको पाटोलाई उधिनेका छन् ।

डिजिटल प्रविधिले मान्छेलाई जतिसुकै सहज बनाए पनि एक्लोपन हटाउन र जीवनलाई अर्थपूर्ण बनाउन मानवीय सम्बन्धको विकल्प नरहेको सन्देश उनले नाट्य कृति नो सिग्नलमार्फत दिएका छन् । लोकार्पण समारोहमा शिल्पी थिएटर, काठमाडौंका परिकल्पनाकार, नाट्य सर्जक तथा निर्देशक घिमिरे युवराजले अधिकारीको पछिल्लो नाट्य कृति नो सिग्नलले मानवीय सम्बन्ध, संयोग र जीवनको निस्सारतालाई बिम्बात्मक शैलीमा प्रस्तुत गरेको बताए ।

अर्का टिप्पणीकार उपप्राध्यापक राजेश विद्रोहीले विज्ञान र प्रविधिले जति नै फड्को मारे पनि मानवीय सम्बन्ध अपरिहार्य रहने सन्देश नाटकले दिएको बताए । उनले भने, ‘आधुनिकताले मानिसको एक्लोपन र छट्पटीलाई अन्त्य गर्न नसक्ने यथार्थलाई कृतिले उजागर गरेको छ ।’ श्रीमती सोमा थापासहित २०६५ सालमा स्विडेन गएका अधिकारीले स्टकहोममा नेपालीसँग मिलेर नेपाल मण्डप नामक संस्था चलाउँदै आएका छन् । केही साताका लागि नेपाल आएका उनीहरूले पुस्तक लोकापर्णसँगै शिल्पी थिएटरमा नाट्य मञ्चन पनि गर्ने तयारी गरेका छन् ।