समाचार
काठमाडौं, असार १२ ।
कथाकार कंचना झाद्वारा लिखित मैथिली कथा संग्रह ‘नव भोर’ को आज एक समारोह बीच लोकार्पण सम्पन्न भएको छ । काठमाडौंमा आयोजित सामारोहमा रेडियो मिथिलाका संस्थापक एवं वरिष्ठ पत्रकार गोपाल झा तथा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष एवं वरिष्ठ कवि धर्मेन्द्र झा विह्वलले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका वरिष्ठ पत्रकार गोपाल झाले आफ्नो मन्तव्य राख्दै, कंचना झाका कथाका भावभूमि मिथिला र मैथिल जन, तिनका पीडा, अन्द्वन्द्व, प्रेम र संघर्ष रहेको बताउनु भयो । उहाँले, कथाका केन्द्रमा रहेकी स्त्री पात्रहरूमा समयक्रमसँगै आएको परिवर्तन र स्वतन्त्रताको अकांक्षालाई विभिन्न पात्रका माध्यमबाट शसक्त चित्रण भएको बताउनुभयो ।
लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ कवि विह्वलले, नव भोर कथा संग्रह एक जननीको कञ्चन भावाभिव्यक्ति रहेको बताउनु भयो । एक नारीद्वारा नारी पात्रहरूको माध्यमबाट सौम्य, शान्त र सुन्दर विद्रोह्को स्वर उठाइएको उहाँले उल्लेख गर्नुभयो । झाले कथाकारमा दृष्टि, क्षमता र समर्पण रहेको बताउनु हुँदै शुभकामना व्यक्तगर्नु भयो ।
लोकार्पण समारोहमा विशेष अतिथिको रूपमा वरिष्ठ लेखिका तथा हिमालिनी हिन्दी पत्रिकाकी सम्पादक श्वेता दीप्तीले पुस्तमाथि विचार राख्नुभयो । त्यस्तै वरिष्ठ लेखिका एवं पूर्व प्रज्ञा परिषद् सदस्य हंसावती कुर्मीलगायतले शुभकामनासहित पुस्तमाथि आफ्नो विचार प्रकट गर्नुभयो । पुस्तकका प्रकाशक कुमार भास्करले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो भने, हिमालिनी मिडियाका प्रबन्ध निर्देशक एवं भाषा सेवी सच्चिदानन्द मिश्रले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
संग्रहमा १९ वटा कथाहरू संग्रहित रहेका छन् । कथाहरूमाथि साहित्यकार विजेता चौधरीले समीक्षा गर्नुभएको थियो । आफ्नो ‘स्व’ को पक्षमा उभिएकी नारी कथाका विशिष्ठ रूप र आयाम सहित मिथिलाका विभिन्न भावभूमिका कथाहरू समेटिएको कथा संग्रह नव भोर संवाद फउण्डेशनले प्रकाशन गरेको हो ।
