• २०८३ जेष्ठ ३१, आईतवार

तेजप्रकाशको कविताकृति ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक

काठमाडौं ।

साहित्यकार तथा कवि तेजप्रकाश श्रेष्ठको नयाँ कविताकृति ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक गरिएको छ । शुक्रबार (जेठ २९) काठमाडौंमा आयोजित कार्यक्रममा भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. डा. कपिल लामिछानेलगायत साहित्यकारले कृति लोकार्पण गरेका हुन् । कार्यक्रममा कवि भुवनहरि सिग्देलले नियात्रा र संस्कृतिमा कलम चलाउने श्रेष्ठले जागिर छाडे पनि कलम नछाडेको बताए । कविको लेखन सक्रियता र क्रियाशीलता देख्दा आफूलाई ईष्र्या लाग्ने गरेको उनले उल्लेख गरे ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली साहित्यका विविध विधामा कलम चलाउने तेजप्रकाशको कविताप्रेम पनि उच्च रहेको बताए । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कृतिमाथि चर्चा गर्दै प्रा. डा. लामिछानेले श्रेष्ठका कवितामा कोरोना सन्त्रास, पीडा र भय रहेको उल्लेख गरे । उनका कवितामा आलोचनात्मक आदर्शवादी चेत पनि भेटिने उनले बताए । अर्का वक्ता प्रदीप सापकोटाले पाठकीय टिप्पणी राखे । ८१ वर्षको उमेरमा पनि कविमा लेखनप्रतिको मोहले सबैलाई ऊर्जा प्रदान गरेको उनले उल्लेख गरे ।

कार्यक्रममा कृतिकार श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल, पूर्णबहादुर श्रेष्ठ हृदयंकितलगायत व्यक्तिहरूले आफ्ना विचार राखे । त्यस अवसरमा सुमन थापा संगम, विश्व सिग्देल र राजेश खनालले सार्वजनिक कृतिभित्रबाट कवितावाचन गरे । कविताकृति ‘जाँगरको कल्पवृक्ष’ सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।