• २०८३ जेष्ठ २५, सोमबार

‘पिपल चौतारी गजल साँझ’ २०८३ सम्पन्न

काठमाडौँ ।

साउथवेस्टन स्टेट साहित्य समाजद्वारा ’पिपल चौतारी गजल साँझ २०८३’ मनाइएको छ । साउथवेस्टन साहित्य समाज, वसुन्धराद्वारा आयोजित तथा साहस उर्जा प्रा.लि.द्वारा प्रायोजित गजल साँझ कार्यक्रम साउथवेस्टन स्टेट कलेज, पिपल चौतारी, वसुन्धरामा भएको हो । समाजका अध्यक्ष राजेन्द्र लामिछाने सभापतित्वमा भएको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व समालोचक प्रा.डा. वासुदेव त्रिपाठी रहेका थिए भने अन्य आमन्त्रित व्यक्तित्वहरूमा साहित्यकार रामबहादुर पहाडी, डा.शैलेन्दुप्रकाश नेपाल, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, प्राचार्य राजेन्द्र केसी, सरिता शाक्य प्रधान, टीकाराम महरा तथा मदन केसी लगायतको उपस्थिति रहेको थियो।

प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.वासुदेव त्रिपाठीले एउटा गजल वाचन गरेर शुभारम्भ गरिएको कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टाहरूले रचना वाचन गरेका थिए। गजल साँझको नाम दिइए पनि कार्यक्रममा गजल लगायत मुक्तक तथा गीतहरू पनि गाइएका थिए । प्रा.डा.त्रिपाठीले अरबको मरुभूमिमा फुलेको सुन्दर फूल नै गजल भएको बताउँदै नेपालमा गजल लेखनको शुरूवात मोतीराम भट्टबाट भएको बताए। भट्टले फारसीबाट सिधै नेपालीमा भित्र्याएको गजल भीमनिधि तिवारीसम्म आइपुग्दा फस्टाएको र गजल विधा अहिले ज्यादै सम्पन्न भइसकेको बताए ।

कलेजका प्राचार्य राजेन्द्र केसीले २०० वर्षभन्दा पुरानो पिपल बोटमुनि बसेर कार्यक्रम गरिँदै आएकोमा मौसमका कारण बन्द कोठाभित्र गर्नुपरेको यथार्थ खुलाउँदै ठाउँ, उमेर र वातावरणभन्दा ठूलो कुरा केही रहेनछ भन्दै प्रकृति भनेको सत्य कुरा हो भनेर बताए । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले कविता, गजल, मुक्तक आदि विधा साहित्यका औजार भएको बताउँदै आफूलाई पनि साहित्यमा लाग्न मन लागेको बताए।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै साउथवेस्टन साहित्य समाजका अध्यक्ष राजेन्द्र लामिछानेले नेपाली साहित्य, सङ्गीत र कलाका क्षेत्रको उन्नयनका लागि कलेजले विगत १५ वर्षदेखि यस्ता कार्यक्रम गर्दै आएको बताउँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद पनि दिएका थिए । कार्यक्रममा स्रष्टाहरू प्रा.शैलेन्दुप्रकाश नेपाल, रामबहादुर पहाडी, ललिजन रावल, सुभाषचन्द्र पौडेल’भीमफेदीया’, मानन्धर अभागी, विष्णु थापा, संगीता थापा, सुशीला शर्मा, गणेशबहादुर अधिकारी, विपीन मर्म, सागर काफ्ले, सुनील अधिकारी, सन्तोष अमगाई, सिद्धनारायण आचार्य, गणेशप्रसाद खतिवडा, विनोद तिमिल्सिना, कृष्ण महत, सुशील चापागाईं, गणेश महरा, विमला दाहाल, उत्तम विचार, राजेन्द्र पौडेल, वसन्त वली, खगेन्द्रसिंह धामी,शीतल कादम्बिनी, दुर्गाकिरण तिवारी, उदास कार्की, अल्प ज्ञानी, प्रसून घिमिरे तथा रेणुका भण्डारीले आ–आफ्ना गजल,मुक्तक तथा गीतहरू वाचन गरेर सुनाएका थिए ।