• २०८३ जेष्ठ २५, सोमबार

काठमाडौँ–कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करण सम्पन्न

काठमाडौँ ।

कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करण सकिएको छ । ललितपुरको होटल हिमालयमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ थिममा आयोजित महोत्सव पूर्वप्रधानमन्त्री सुशीला कार्कीले शनिबार उद्घाटन गरेकी थिइन् । पहिलो दिन चर्चित भारतीय अभिनेता र लेखक पीयूष मिश्रा मुख्य आकर्षणको केन्द्रमा रहे । ‘तुम्हारी औकात क्या है पीयूष मिश्रा’ शीर्षकमा प्रस्तोता युनुश खानसँग मिश्राले खुलेर कुरा गरे। आफ्नो बाल्यकालका जटिल भोगाइ, थिएटरप्रतिको मोह, परिवारको अपेक्षाविरुद्ध कलाको बाटो रोज्ने साहस र आफ्नो आत्मकथाबारे उनले कुराकानी गरे। त्यस्तै चर्चित भारतीय गायिका, अभिनेत्री तथा रंगकर्मी इला अरुण पनि हाइहाइटमा रहिन् ।

‘परदे के पीछे’ सेसनमा इला अरुणले आफ्नो आत्मकथा ‘चोली के पीछे’ र जीवनयात्राबारे सुनाइन्। साथै गीत गाउँदै नृत्यसमेत गरिन् । नेपालीतर्फ ‘द ग्लोबल भ्वाइस अफ नेपाली पोयट्री’ र ‘महोत्सवका चुनौतीहरू’लगायत थुप्रै सेसन सञ्चालन भए । उद्घाटन समारोहमा महोत्सव निर्देशक रञ्जना निरौलाले साहित्य केवल शब्द र पुस्तकमा सीमित नरहेको बताउँदै यसले विचार, संस्कृति, स्मृति, संवेदना र मानवीय सम्भावनाको साझा उत्सव मनाउने अवसर प्रदान गर्ने धारणा राखिन् । त्यस्तै दोस्रो दिन पनि महोत्सवमा सिनेमादेखि साहित्य, हास्यव्यङ्ग्य र गीतसंगीतमा विषयमा सेसन सञ्चालन भए ।

‘गीत सुन्ने कि हेर्ने?’, ‘सिनेमाः हिजो, आज र भोलि’, ‘राजेन्द्र खड्कीलाई एक डिस्काउन्ड सुझाव’, ‘मान्ठः जुरुक्क कर्णाली’, ‘पहिचानका पद्चापः समाज, सभ्यता र संस्कृति’, ‘पुरानो हासो नयाँ जोक्स’ लगायतका विषयमा अन्तर्किया गरिएको थियो । त्यस्तै, ‘गुञ्जिरहने शब्दहरूः कविता, सिनेमा र गीतहरूको शिल्पमा राज शेखर’ शीर्षकमा सम्पदा मल्लसँग गफिए। प्रतिभा राय, विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जयप्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, यतीश कुमार, आशुतोष अग्निहोत्री, सुजीत कुमार, युनुस खानसमेत महोत्सवमा सहभागी भए ।

महोत्सवमा नेपालीसहित हिन्दी, उर्दु भाषामा गीत, कविता र गजलको सानदार प्रस्तुति भएको थियो। त्यस्तै, अन्तिममा चर्चित मोटिभेसनल स्पिकर आचार्य प्रशान्तको सेसन राखिएको थियो। बेलायतमा रहेका प्रशान्त लाइभ भिडिओमार्फत सेसनमा जोडिएको थियो। भिडिओ लाइभ भए पनि सेसनमा दर्शकको बाक्लो भिड थियो ।