कहानी-हिन्दी
काठमाडौं ।
ज्ञानगुन प्रकाशनद्वारा प्रकाशित ‘ज्ञानगुनका कुरा ः डा. गोविन्दराज भट्टराई अंक–२’ एक कार्यक्रमबीच अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेलगायतले लोकार्पण गरेका छन् । काठमाडौंमा विशेष अंक सार्वजनिक गर्दै प्रमुख अतिथि घिमिरेले डा. भट्टराईसँगको परिचय र उनका लेखरचना ‘रचना’मा प्रकाशित गर्दाको समय स्मरण गरे । उनले २०३२ सालमा रचनामा भट्टराईले लेखेको जगदीश घिमिरेको ‘साविती’ उपन्यासमाथिको समीक्षा छापिएको चर्चा गरे । उनले भने, “डा. भट्टराईलाई समीक्षा लेख्न प्रेरित गर्ने रचना पत्रिका नै हो ।”
कार्यक्रममा प्रकाशित अंकमाथि डा. शोभा ढुंगानाले पाठकीय मन्तव्य राख्दै सार्वजनिक अंकमा सान्दर्भिक आलेखहरू रहेको बताइन् । अर्का समीक्षक पत्रकार शरद प्रधानले यो पुस्तकले डा. भट्टराईलाई बुझ्न धेरै मद्दत गर्ने बताए । प्रा.डा. कुमारप्रसाद कोइरालाले डा. भट्टराई नेपाली साहित्यका जेनजी लेखक भएको उल्लेख गर्दै उनले नयाँनयाँ चेतनालाई अगाडि ल्याएको उल्लेख गरे । उक्त अवसरमा प्रकाशन संस्थाका शेषराज सिवाकोटी, डा. तुलसी भट्टराई, सुधा भट्टराई, कलाकार केके कर्माचाय, प्रा.डा. सुरेन्द्रप्रसाद भट्टले डा. भट्टराईको लेखन र उनका कृतिको चर्चा गरे । कार्यक्रममा ज्ञानगुनका कुराको केके कर्माचार्य अंक, प्रा. नयराज पन्त अंक, ज्ञानेन्द्र विवश अंक तथा विज्ञानका कुराको २० अंक पनि सार्वजनिक गरियो ।
