कविता
काठमाडौँ ।
प्रहरी वरिष्ठ नायव निरीक्षक श्रीहरि केसीद्वारा लिखित ‘मिसन’ नामक नियात्रा कृति सार्वजनिक गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा उक्त कृतिको विमोचन गरिएको हो । ‘मिसन’ कृतिमा लेखक केसीले प्रहरी सेवामा रहँदा देशका विभिन्न स्थान तथा विदेश भ्रमणका क्रममा संकलन गरेका अनुभवलाई नियात्रात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । कृतिमा पेशागत जीवनका उतारचढाव, यात्राका अनुभूति र सामाजिक यथार्थलाई समेटिएको छ ।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको समेत शुभारम्भ गर्नुभएको थियो । सो प्रणालीमार्फत सेवाग्राहीका निवेदन तथा गुनासाहरूलाई डिजिटल माध्यमबाट सहज रूपमा दर्ता र व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै कार्कीले व्यस्त प्रहरी जीवनका बीच सिर्जनात्मक लेखनमा सक्रिय रहनु सराहनीय रहेको उल्लेख गर्दै यस्ता कृतिले प्रहरी संगठनभित्र अध्ययन र लेखन संस्कृतिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी उच्च अधिकृत, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । ‘मिसन’ कृतिले प्रहरी जीवनका अनुभव र यात्रालाई साहित्यिक ढंगले प्रस्तुत गर्दै पाठकमाझ नयाँ अनुभूति दिने अपेक्षा गरिएको छ ।
