समाचार
काठमाडौं ।
साहित्यकार प्रकाश सापकोटाको नयाँ उपन्यास ‘विरक्त बाटो’ बजारमा आएको छ । प्रेमकथामा आधारित यस उपन्यासले विदेश जान संघर्षरत एक नेपाली नारीको घरदेशदेखि परदेशसम्मको जीवनयात्रा, प्रेम, विफलता र उतारचढावलाई कौतुहलपूर्ण ढङ्गले प्रस्तुत गरेको छ ।
उपन्यासमा परदेशी परिवेशमा गलत संगत र आचरण भएको युवकसँगको सम्बन्धले जीवनमा ल्याउने विघटन र त्यसबाट उत्पन्न पीडालाई संवेदनशील ढङ्गले चित्रण गरिएको छ । कथाले नेपाली युवापुस्ताको विदेश मोह, त्याग र त्यसका जोखिमपूर्ण परिणामलाई केन्द्रमा राखेको छ ।
चर्चित साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष गोवद्र्धन पूजाका अनुसार, उपन्यासले नेपालदेखि युरोपसम्म फैलिएको परिवेश समेटे पनि मूलतः घर छोड्ने आम नेपाली युवाको पीडालाई अभिव्यक्त गरेको छ । त्यस्तै अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले उपन्यासमा पात्रहरूको जीवनका विविध मोड र जटिलताले यसलाई रोचक र पठनीय बनाएको उल्लेख गर्नुभएको छ ।
उपन्यासकार सापकोटाले परदेश बसाइका आफ्नै अनुभव र भोगाइका आधारमा कथा निर्माण गरिएको बताउँदै, कृतिमा समेटिएका घटनाहरू धेरै पाठकलाई आफ्नै जीवनसँग नजिक लाग्न सक्ने धारणा व्यक्त गर्नुभएको छ । डेनमार्क निवासी सापकोटाको यो दोस्रो उपन्यास तथा छैटौँ प्रकाशित कृति हो । शिखा बुक्समार्फत ३ सय ९५ रुपैयाँ मूल्यमा उपलब्ध ‘विरक्त बाटो’ अनलाइन माध्यमबाट समेत खरिद गर्न सकिने जनाइएको छ ।
