कविता
काठमाडौं ।
सूचक प्रकाशनले बालसाहित्यका चार र एउटा कविताकृति गरी पाँच पुस्तक एकसाथ सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रमोद प्रधान, हिरण्यकुमारी पाठकलगायतले जलेश्वरी श्रेष्ठको बालकथा ‘सुनपरी’, सुशीला देउजाको बालकथा ‘काले’, दीपक भेटुवाल ‘दीपसागर’को बालकथा ‘लड्डुको खोज’, विमलादेवी अधिकारीको बालकविता ‘जून’ र निद्रादेवी देउजाको कविताकृति ‘अमूर्त घर’ एकसाथ लोकार्पण गरे ।
बालसाहित्य समाजका अध्यक्ष समेत रहेका साहित्यकार प्रधानले बालसाहित्य बालबालिकाका निम्ति लेखिनुपर्ने भन्दै यस्ता बालकृतिले उपदेश दिने नभई तिनलाई पढ्न रुचिकर हुने सामग्री प्रस्तुत गरिनुपर्ने बताए । प्रधानले भने, “यहाँ अभिभावकको पनि कमजोरी छ । अभिभावक आफैँ किताब पढ्दैनन् अनि केटाकेटीलाई पढ् भन्छन् । अभिभावकले यो बानीलाई परिवर्तन गर्नुपर्छ ।”
अब बालसाहित्यलाई पनि फरक ढंगमा लेख्नुपर्ने समय आएको बताउँदै उनले मोबाइलबाट फेरि किताबतिर बालबालिकालाई फर्काउन अभिभावकले नै ध्यान दिनुपर्नेमा जोड दिए । डा. नवराज रिजालले ‘काले’ र ‘सुनपरी’को समीक्षा गर्दै बालबालिकामा सकारात्मक प्रभाव पार्ने कृति पाठकमाझ ल्याइएको उल्लेख गरे । डा. शैलेन्दुप्रकाश नेपालले ‘जून’ र ‘लड्डूको खोज’को समीक्षा गर्दै कृतिहरू सन्देशमूलक र पठनीय रहेको बताए । कविताकृति ‘जून’को चर्चा गर्दै डा. नेपालले त्यसको अंग्रेजी अनुवादमा रहेका केही कमीकमजोरी पनि औँल्याए । अर्का वक्ता माधव घिमिरे ‘अटल’ले कवितकृति ‘अमूर्त घर’को चर्चा गर्दै कवि देउजाका आत्मानुभूति यस कवितामा प्रस्तुत भएको बताए ।
कार्यक्रममा डा. छायादत्त न्यौपानेले हरेक घरबाट पठन संस्कृति हराएको टिप्पणी गरे । घरबाटै फेरि यसको विकास गरिनुपर्नेमा उनले जोड दिए ।कार्यक्रममा लेखक तथा प्रकाशन संस्थाका प्रमुख दीपक भेटुवालले आफूहरूले बालबालिकामा पठन संस्कृतिको विकासका निम्ति काम गर्दै आएको बताए । उनले बालसाहित्य पठन अभियान लिएर बालबालिकासम्म पुग्ने प्रयास गरेको उल्लेख गरे ।
