• २०८३ जेष्ठ ६, बुधबार

‘स्रष्टा दर्पण’को ३३औँ अंक सार्वजनिक

काठमाडौं ।

नेपाल स्रष्टा समाजले वर्षमा दुईपटक प्रकाशित गर्दै आएको ‘स्रष्टा दर्पण’को ३३औँ अंक सार्वजनिक गरेको छ । समाजको वाग्मती प्रदेश समितिले मंगलबार आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईसहितले उक्त पुस्तक सार्वजनिक गरे । समाजले यसलाई ‘साहित्य र संस्कृति विशेष अंक’ भनेको छ ।

पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि प्रा.डा. भट्टराईले समाजले साहित्य र संस्कृतिमाथि केन्द्रित रहेर राम्रो कृति प्रकाशनमा ल्याएको उल्लेख गर्दै एउटा महत्त्वपूर्ण काम भएको बताए । उनले अमेरिका भ्रमणमा जाँदा त्यहाँका नेपालीहरूमा देखिएको संस्कृति प्रेमको चर्चा गर्दै संस्कृतिमा आफ्नोपन रहने बताए ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले समाजले साहित्य र संस्कृतिको प्रवद्र्धनमा विशेष काम गर्दै आएको चर्चा गरे । साहित्यकार श्रीओम ‘रोदन’ले यो पत्रिका स्रष्टा समाजको ऐना भएको बताए । संरक्षक पवन आलोकले स्रष्टा दर्पणको प्रकाशन सुरु गर्दाको समय स्मरण गर्दै पहिले बुलेटिनका रूपमा प्रकाशित हुँदै आएको यो अहिले अर्धवार्षिक साहित्यिक पत्रिका भएको उल्लेख गरे ।