• २०८३ जेष्ठ ५, मंगलवार

कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ लोकार्पण

काठमाडौं ।

साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ लोकार्पण गरिएको छ । आइतबार चलचित्र विकास बोर्ड परिसरमा आयोजित एक कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. अञ्जना शाक्य, इजरायली राजदुत इस्मुलीक एल्विस र श्रीमती मिरा परेडयारका साथै गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपाल का उपाध्यक्ष शंकर थापा ‘स्माइल’लगायतले कृति सार्वजनिक गरे ।

कार्यक्रममा लेखिका कादम्बरी दाना श्रेष्ठले इजरायलमा रोजगारीका क्रममा आफूले जीवनका अनेक अनुभव, संघर्ष, पीडा र आत्मीयता नजिकबाट महसुस गरेको बताउदै त्यही अनुभव पुस्तक उतारेको बताए । लेखिकाका अनुसार ‘इमा’ इजरायली शब्द हो, जसको नेपाली अर्थ ‘आमा’ हुन्छ । पुस्तकमा आमाप्रतिको माया, आत्मीय सम्बन्ध, वैदेशिक भूमिमा नेपाली कामदारले भोग्ने भावनात्मक संघर्ष, संस्कृतिको अन्तरसम्बन्ध तथा मानवीय संवेदनाका विविध आयामलाई समेटिएको छ ।

कार्यक्रममा इजरायली राजदूत इस्मुलीक एल्विसले नेपाल र इजरायलबीचको सांस्कृतिक तथा मानवीय सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता साहित्यिक कृतिले महत्वपूर्ण भूमिका खेल्ने बताए । डा. अञ्जना शाक्यले कादम्बरी दाना श्रेष्ठलाई ‘भाग्यमानी लेखिका’को संज्ञा दिँदै ‘इमा’ ले आमाप्रतिको भावना, ममता र संवेदनालाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको बताइन् । पुस्तक कुनै एक व्यक्तिको कथा मात्र नभई इजरायलमा कार्यरत हजारौं नेपाली केयर गिभरहरूको साझा अनुभव, संघर्ष र भावनाको प्रतिनिधित्व भएको शाक्यको धारणा थियो ।