• २०८३ जेष्ठ ४, सोमबार

“नेपाल इन्डिया कल्चर हार्माेनि” अन्तर्राष्ट्रिय कार्यक्रम

काठमाडौँ ।

विश्व बंग साहित्य तथा संस्कृति सम्मेलन कोलकाता, भारतको स्वागत सम्मान तथा “नेपाल इन्डिया कल्चर हार्माेनि “एक दिवशीय साहित्यिक÷ सांगीतिक अन्तर्राष्ट्रिय कार्यक्रम भएको छ ।

सो कार्यक्रममा विश्व बंग साहित्य तथा संस्कृति सम्मेलनका सोह्र जना तथा सिक्किमबाट आएका साहित्यकारहरूलाई स्वागत सम्मान गरिएको थियो ।
जरा फाउन्डेसन नेपाल, साहित्यिक पत्रकार संघ (सापस) र शान्ति साहित्य परिवारको संयुक्त आयोजनामा नेपाल–भारत सांस्कृतिक सदभावको एकदिवसीय साहित्यिक तथा सांगीतिक अन्तर्राष्ट्रिय कार्यक्रम भएको हो।

जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईको सभापतित्व र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको निवर्तमान कुलपति निशा शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा अर्को आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत एवं कार्यक्रमको उदेश्य र महत्त्वमाथि प्रकाश पार्दै बांङ्ला भाषा ज्यादै मीठो र मृदुल भएको बताए।
जरा फाउन्डेसन, साहित्यिक पत्रकार संघ र शान्ति साहित्य परिवारको स्थापना, उद्देश्य र योगदानबारे संक्षेपमा प्रकाश पार्दै कलकत्ता र सिक्किमबाट आएका साहित्यकारहरू लगायत उपस्थित सबैप्रति हार्दिक स्वागतसहित धन्यवाद पनि दिएका थिए ।

प्रमुख आमन्त्रित व्यक्तित्व निशा शर्माले बुद्ध भूमि तथा सीता भूमिमा भारतीय कविहरूलाई स्वागत गर्दै भारतीय कवि डा. राधाकान्तको भारत भ्रमणको निम्तोका लागि धन्यवाद दिएकी थिइन् । मन्तव्यका क्रममा उनले स्वरचित हिन्दी कविता ’मै उम्र बताना नहीँ चाहती हुँ’ सुनाएकी थिइन् ।कार्यक्रममा जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाइले बंगाली भाषामै सम्बोधन गर्दै नेपाल–भारत बीचको सुमधुर सम्बन्धबारे प्रकाश पार्दै डा. राधाकान्त सरकारको प्रशंसा गरेका थिए ।

डा. राधाकान्त सरकारले आफ्नो मन्तव्य राख्दै देश, भाषा, भेष फरक परे पनि हामी सबैको उद्देश्य, भावना एउटै भएको बताए। मन्तव्यका क्रममा उनले ’नारी’ शीर्षकको एउटा कविता र अर्को एउटा अंग्रेजीमा लेखिएको कविता समेत वाचन गरेर सुनाएका थिए। नेपालीहरू ज्यादै सुन्दर र मिलनसार भएका र नेपाली भाषा ज्यादै मीठो छ भन्दै उनले नेपाली साहित्यकारहरूलाई कलकत्ता आउन निम्तो पनि दिएका थिए ।

कार्यक्रममा प्रो. रजतकिशोर डे, पूर्व सांसद रेखा यादव, परराष्ट्रविद् नारायण मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्य नेपाली, अंग्रेजी, बंगाली र हिन्दी भाषामा राखिएको थियो । नक्सालस्थित ँँध्एग् को केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा शान्ति साहित्य परिवारका अध्यक्ष कृष्ण अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि प्रज्वल अधिकारीले गरेका थिए ।
कलकत्ताका कवि डा. राधाकान्त सरकारलाई प्रशंसापत्रसहित सम्मान गरिएको सो कार्यक्रममा कलाकार मेनुका लामाले आर्यतारा चर्या नृत्य प्रस्तुत गरेकी थिइन्। त्यसैगरी असमकी शिखा थापाले पनि नेपाली र असमी गीतमा सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सुरूवातमा शान्ति साहित्य परिवारका अध्यक्ष कृष्ण अधिकारीको शब्द, शिखर सन्तोषको सङ्गीत तथा आनन्द कार्कीको गायन रहेको नेपाल–भारत भाइचारा सम्बन्धी एउटा गीत प्रोजेक्टर मार्फत प्रस्तुत गरिएको थियो ।

सङ्गीतकार तथा गायक प्रदीप बमजनले रवीन्द्रनाथ टेगोरद्वारा रचित ’एकला चलो’ कवितालाई गीत बनाएर गाएका थिए भने कार्यक्रमलाई सङ्गीतमय,आकर्षक र मन्त्रमुग्ध बनाएका थिए । डा. शिवानी दासले नेपाली–हिन्दी गीत, टुना मजुमदारबाट बंगाली गीत, नरहरि प्रेमीले नेपाली–हिन्दी गीत, सन्देश पौडेलले नेपाली गीत, अनिल श्रेष्ठ र संगीता बरूवालले देउडा गीत, सुभाष बन्धुपाध्यले बंगाली गीत गाएर सुनाएका थिए ।

सुभाषचन्द्र पौडेल “भीमफेदिया“ को अनुसार कार्यक्रममा कविहरू मणिमाला मल्लिक, शर्मिला सेन, गीतिकान्त मजुमदार, समरशंकर चट्टोपाध्य, आशिषकुमार कौर, गौरी सरकार, शिवशंकर बक्सीले आफ्नो भाषामा कविता वाचन गरेका थिए । पूर्व सांसद रेखा यादवले पनि हिन्दीमा लेखेको आफ्नो एउटा कविता वाचन गरेर सुनाएकी थिइन् भने नेपाली कविहरूका तर्फबाट रिता खत्रीले एउटा कविता वाचन गरेकी थिइन् ।

कार्यक्रमको अन्तमा कलकत्ता र सिक्किमबाट आएका आमन्त्रित व्यक्तित्वहरू र कविता वाचन गर्ने कविहरू तथा गायक र नृत्य गर्ने कलाकारहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो भने उपस्थित सबैलाई रुद्राक्षको माला लगाइदिएर स्वागत तथा सम्मान गरिएको थियो ।