• २०८३ बैशाख २५, शुक्रबार

‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषिबहादुर राई र कमल किरातीलाई

काठमाडौँ ।

वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८२ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषिबहादुर राई र कमल किरातीलाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका वाम्बुले भाषाको कवितामध्ये सर्वोत्कृष्ट रचनालाई प्रदान गरिँदै आएको छ ।

कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो । इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २८ (लिब्जु–भुम्जुको १०१औं शृंखला), २०८२ वैशाख–असारमा प्रकाशित ऋषिको ‘लाम’ (बाटो) र इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क ३१ (लिब्जु–भुम्जुको १०४औं शृंखला), २०८२ माघ–चैतमा प्रकाशित कमलको ‘कवि कावा’ (कवि साथी) शीर्षक कवितालाई पुरस्कारका निम्ति चयन गरिएको छ ।

‘अज्ञात ऋषि’ नामले परिचित कवि ऋषि उदयपुरको कटारी–३ च्याँगामा २०४१ भदौ १२ गते जन्मेका हुन् । उनले त्रिविबाट समाजशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् । मातृभाषा वाम्बुले र नेपाली भाषामा कविता, निबन्ध, कथा विधामा कलम चलाउँदै आएका छन् । उनी राससका कटारी उदयपुर संवाददाता समेत हुन् ।

यसैगरी कमल किराती नामबाट परिचित कमलकुमार राईको जन्म ओखलढुंगाको मानेभन्ज्याङ–३ सिम्काकुमा २०४५ पुस २६ गते भएको हो । उनले त्रिविबाट पत्रकारिता विषयमा स्नातक तहसम्म अध्ययन गरेका छन् । उनले कविता, कथा, निबन्ध विधामा कलम चलाउँदै आएका छन् । उनी गाउँमा रहेर आधुनिक कृषि तथा पशुपालन व्यवसायमा संलग्न छन् ।