• २०८३ बैशाख २३, बुधबार

निर्मलकुमारको नियात्राकृति ‘जहाँ छचल्किए भावना’ सार्वजनिक

काठमाडौं ।

पत्रकार तथा लेखक निर्मलकुमार आचार्यको नियात्राकृति ‘जहाँ छचल्किए भावना’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्राकार प्रतीक ढकाल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. भरतकुमार भट्टराई लगायतले कृति सार्वजनिक गरे । प्रमुख अतिथि ढकालले आचार्यको नियात्राकृतिले पाठकलाई देश विदेशका विभिन्न ठाउँमा पु¥याउने बताउँदै यसमा पाठकका लागि राम्रो जानकारी रहेको उल्लेख गरे ।

कुनै पनि यात्रा आफैँमा एउटा विश्वविद्यालय भएको उल्लेख गर्दै ढकालले सार्वजनिक कृति राम्रो भएको बताए । नियात्राकार ‘रोदन’ले नियात्राको शक्ति भनेको त्यसले पाठकलाई घुमाउन सक्नुपर्छ भन्दै कृतिकारले पाठकलाई ठाउँठाउँ घुमाउने चर्चा गरे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. भट्टराईले कृति सुन्दर र सुललित बनेको बताए । उनले कृतिभित्र २०७१ देखि २०८२ सम्म लेखिएका २८ वटा नियात्रा समेटिएको चर्चा गर्दै आचार्यको लेखनमा वर्णनको चातुर्यता रहेको उल्लेख गरे । कृतिकार आचार्यले साथीहरूको प्रोत्साहनले नै कृति जन्मिएको बताउँदै पाठकसँग आफ्ना कमि कमजोरी औँल्याइदिन आग्रह गरे । कार्यक्रममा राधेश्याम लेकालीले पनि आफ्ना धारण राखे । गोरखापत्रका पूर्वप्रधानसम्पादक रहिसकेका कृतिकार आचार्यका यसअघि विभिन्न विधाका १० कृति प्रकाशित भइसकेको छ । संख्यामा ११औँ भए पनि यो उनको पहिलो नियात्राकृति हो ।