• २०८३ बैशाख ९, बुधबार

सुशिला पौडेलका चार मुक्तक

सुशिला पौडेल

सुशिला पौडेल

छिट्टै सफल बन्नलाई भ्रम छरे पुग्ने रहेछ
दुःख पाउन अरूको भर परे पुग्ने रहेछ
मान्छे पागल हुनलाई अरू केही गर्नै पर्दैन
मनदेखि नै कसैलाई माया गरे पुग्ने रहेछ ।

कस्तो बेचैनी अनि छट्पटी हुन्छ
एक पलमै पीडा कतिकति हुन्छ
बस्न कसरी सक्नु तिमीबाट टाढा
श्वास रोक्न मुटुको सहमति हुन्छ ।

चोटलाई चोटैले थिचेर मुस्कुराइ दिन्छु
आँसुलाई आँखैमा मिचेर मुस्कुराइ दिन्छु
धारेहात लाउने जमातको कमी छैन यहाँ
घृणालाई मुटुमै किचेर मुस्कुराइ दिन्छु ।

न विश्वास न भरोसा पाइयो
खै कसरी हो नजिक आइयो
ऊ अनेक झुट बोलेर खुसी छ
के सोचेर पो कसम खाइयो ।


सुशिला पौडेल