• २०८३ बैशाख २, बुधबार

नयाँ वर्ष तिमीलाई स्वागत छ

सुरेशजंग शाह

सुरेशजंग शाह

अनगिन्ति आशा भरोसा
उमङ्ग बोकेर
नयाँ वर्ष
तिम्रो आगमन
मेरी मायालुको
ओठको मुस्कान झैँ प्रिय
या नव वधुको गृह प्रवेश झैँ
अथाह उत्साह कौतुहलताहरू
वसन्तको पालुवा सुम्सुमाउँदै
मेरो मनभरि
चञ्चलित भइरहेको बेला
मैले मेरो देशमा
न्याय हारेको सुन्न नपरोस्
सिमाना मिचिएको देख्न नपरोस्
अस्ताउन नपरोस्
तारा बरालका आवाजहरू
बालकृष्णका प्रयासहरू
नथाकून् हर्क साम्पाङ र बालेनका पाइलाहरू
नहारून् रविका उत्साहहरू
राष्ट्रको नक्साभित्र
लिपुलेक लिम्पियाधुरा
सिमाना
दाबा बोल्न कहिल्यै नथाकून्
केपी ओलीका साहसहरू
अलपत्र नपरोस्
देशको माटोको माया
नहराओस्
देशको परिचय
भाषा साहित्य संस्कृति !
नहराउन्
जगमानहरू
नरेन्द्र इन्दिराहरू !
उठ्न नसकून्
भ्रष्टाचारका महलहरू
नयाँ वर्ष !
तिम्रो आगमनमा
मेरो याचना तिमीसँगै
बिहानी पख झुल्केका
सुनौला घामका किरणहरू
सगरमाथामा ठोक्किँदा
उज्यालिऊन् झुपडीहरू
र मेरो देशले कहिल्यै
अँधेरीमा आँसु पुछ्न नपरोस् !


सुरेशजंग शाह